कांग्रेस सिध्याउन हिँडेका ‘दुश्मन’ प्रचण्ड–बाबुरामसँग हात मिलाउन पुगे रामचन्द्र

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको कार्यक्रममा कुम जोडेर बसेका छन् ।

प्रचण्डले ओलीविरुद्ध सडक आन्दोलन गर्दै आएका छन् । प्रचण्डको टुक्रिएको नेकपा झुण्ड सडकमा आन्दोलनरत छ । प्रचण्डको झुण्डले कांग्रेसलाई मिलेर आन्दोलन गर्न अनुरोध गर्दै आएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली, प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री या नेकपाको अध्यक्ष बनाउन कांग्रेसले आन्दोलन नगर्ने बताउँदै आएका छन् ।

नेकपाभित्रको व्यक्तिवादी चरित्र र स्वार्थका कारण ओली, प्रचण्ड र नेपालले संसद भङ्ग गरेका हुन् । यी तीन जना नेताहरू संसद भङ्ग गर्नमा प्रमुख दोषी छन् । उनीहरूसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उत्तिकै दोष रहेको आरोप लाग्दै आएको छ ।

भट्टराईको जसपा पनि सडकमा छ । प्रचण्ड र भट्टराई संसद पुनःस्थापनाको माग गर्दै आएका छन् । १७ हजार जनताको हत्या गर्ने कथित जनयुद्धमा प्रचण्ड र भट्टराई संयुक्त रुपमा उत्पात मच्चाएका थिए ।

पछि प्रचण्ड र भट्टराईबीच स्वार्थ नमिलेपछि अलग–अलग भएका थिए । स्वार्थ मिल्न थालेपछि प्रचण्ड र भट्टराईफेरि नजिकिन खोजेका छन् । माओवादी पार्टी छाडेर तीन–चार वटा पार्टी बनाएका भट्टराई र प्रचण्डबीच एउटै कार्यक्रममा देखिएको थिएन ।

उता, नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा भङ्ग भएको विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच मतभेद छ । देउवा सर्वोच्च अदालतले दिने फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताउँदै आएका छन् ।

देउवाले प्रतिनिधि सभा भङ्ग गर्ने ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर आलोचना गरिसकेका छन् । देउवा निर्वाचनको पक्षमा छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेर ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर आन्दोलन गर्दै आएको छ ।

तर, पौडेल संसद पुनःस्थापनाको पक्षमा छन् । पौडेलले आफू निकटका नेताहरूसँग देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् । पौडेलले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पार्टीको संस्थागत निर्णयविरुद्ध संसद पुनःस्थापनाको माग गर्दै आएका छन् ।

पौडेललाई प्रचण्डले राष्ट्रपति पदको लोभ देखाएको भनेर आलोचना भइरहेका बेला काठमाडौंमा शनिबार पौडेल, प्रचण्ड र भट्टराईबीच एउटै मञ्चमा देखिएका छन् ।

गोरखामा हार्ने परिस्थिति भएपछि कांग्रेसको भोटले जितेर आएका भट्टराईले काठमाडौं आउनेवित्तिकै कांग्रेसलाई म्युजियममा लगेर राख्नुपर्ने भनेर टिप्पणी गरेका थिए ।

धोकेबाज भएको भन्दै कांग्रेसका अधिकांश नेताहरू प्रचण्ड र भट्टराईको कार्यक्रममा जाँदैनन् ।

तर, पौडेल भने प्रचण्ड र भट्टराईको कार्यक्रममा जाने गरेका छन् । पौडेल र प्रचण्ड पछिल्लो समय नजिकिएका छन् । भट्टराईसँग पनि पौडेल निकट हुँदै गएका छन् ।

पौडेल र भट्टराई नातेदार पनि पर्छन् । उनीहरूका बीच बेलाबेला राजनीतिक साँठगाँठ हुने गरेको चर्चा तनहुँमा छ । गएको प्रतिनिधि सभा निर्वाचनमा पौडेलले तनहुँका एकजना व्यापारीमार्फत भट्टराईलाई निर्वाचन खर्च समेत पठाइदिएको चर्चा दमौलीमा बेलाबेला हुने गरेको छ । कथित जनयुद्धका बेला पनि पौडेल र भट्टराईबीच साँठगाँठ रहेको भनेर तनहुँ कांग्रेसमा चर्चा हुने गरेको छ ।

पूर्वमाओवादी भट्टराईले कथित जनयुद्धलाई मान्यता दिन ‘गुमनाम आमाहरूको कथा’ नामक किताब शनिबार काठमाडौंमा लोकार्पण गरेका छन् । यो किताबमा कथित जनयुद्ध र हिंसालाई बचाउ हुने खालका लेख र रचना राखिएका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले कथित जनयुद्ध र हिंसालाई बढाइचढाइ गरेर लेखिएका लेखहरूको किताबको प्रशंसा गरेका छन् ।

कार्यक्रममा प्रचण्ड, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, अशोक राई, डा.मीना पौडेल, तुलानारायण साहलगायतको उपस्थिति रहेको थियो । तुलानारायण साहले जातीय आन्दोलनलाई साथ दिएर तराईमा उत्पात मच्चाएको आरोप छ ।

Published : Saturday, 2021 February 13, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया