गोल्चेमा कांग्रेसद्वारा अग्नि सापकोटाको कम्युनिस्ट किल्ला ध्वस्त, बस्नेतद्वारा युवाहरूलाई स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका नेता कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका छन् ।

काठमाडौंको तीनकुनेस्थित निवासमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता बस्नेतले सिन्धुपाल्चोकका एक दर्जन बढी युवाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । कांग्रेस प्रवेश गर्नेमा तत्कालीन माओवादीका जनमुक्ति सेना र चे वादी पार्टीका नेता कार्यकर्ताहरू रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका नेता बस्नेतले कम्युनिस्टहरू दुईतिहाइको नजिक रहेपछि जनताप्रति कुनै पनि काम नगरेको बताए । ‘जनताका लागि केही गर्छु भन्ने कम्युनिस्टहरू मिलेर चुनाव लडे । व्यक्तिगत स्वार्थमा लागे’, उनले भने, ‘हसिया हथौडाबाट चुनाव लडेका प्रचण्डलाई सूर्य चिन्ह चाहिएको छ । सिद्धान्तको कुरा रहेनछ । व्यक्तिगत कुरा रहेछ ।’

कांग्रेसमा प्रवेश गरेका साथीहरूको गाउँमा बत्ति, सडक केही नरहेको भन्दै कम्युनिस्टहरूले धोका दिएका बस्नेतले बताए । ‘बिद्रोही युवा साथीहरूलाई कांग्रेसले विकासमा परिचालन गर्नेछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले पत्याएको र पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गर्नुभएको छ । केही दिनपछि गाउँमा अरु साथीहरू पनि कांग्रेसमा प्रवेश गर्नुहुनेछ ।’

उनले जगल गाउँपालिकाको गोल्चेको विकासमा सहयोग गर्ने आश्वासन दिएका छन् । गोल्चेमा बाढीपहिरो र हाइड्रोका कारण स्थानीय जनता समस्यामा परेको भन्दै नेता बस्नेतले जनताको आवाजलाई कांग्रेसले सम्बोधन गर्ने बताए ।

कांग्रेस प्रवेश गर्नेम सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– २ गोल्चेका युवाहरू रहेका छन् । बसन्त लामा, महेन्द्र तामाङ, जयवीर स्याङ्वो, शेरबहादुर स्याङ्गवो, दावा तामाङ, चीनबहादुर स्याङ्वो, सुनलाल दोङ, पेम्वा स्याङ्वो, पासाङ थिङलगायतका युवाहरू रहेका छन् ।

चे वादी पार्टीका परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका बसन्त लामाले कांग्रेसनै देश विकास र जनताको पार्टी रहेको बताएका छन् । उनले आफूहरूले विगतमा बाटो विराएपनि अब कांग्रेसमा लागेर जनता र देशको सेवा गर्ने बताए ।

पूर्व जनमुक्ति सेना समेत रहेका महेन्द्र तामाङले माओवादी नेताहरू धोकेबाज रहेको बताए । जितेर गएपछि गाउँको विकास र कार्यकर्ताहरूको विषयमा कुनै ध्यान नदिएको बताए । उनले कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्न सबैलाई अनुरोध गरेका छन् ।

जुगल गाउँपालिका कम्युनिस्टहरूको बाहुल्य रहेको छ । कम्युनिस्टले किल्ला ठानेको जुगलमा कांग्रेसले कब्जा जमाउन थालेको छ ।

सिन्धुपाल्चोकबाट तत्कालीन माओवादीबाट प्रतिनिधि सभामा निर्वाचित अग्निप्रसाद साकोटाले कुनै काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सापकोटालाई आफ्नै पार्टीका नेता कार्यकर्ताहरूले छाड्दै आएका छन् ।

कम्युनिस्टहरूले शनिबार कथित जनयुद्ध दिवस मनाइरहेका बेला पूर्व जनमुक्ति सेनासहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Saturday, 2021 February 13, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया