डा.कोइराला–गगनसहितका नेताहरूको गोप्य भेला, कांग्रेसभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीका केही केन्द्रीय सदस्यहरूसँग गोप्य भेटघाट गरेपछि तरंग उत्पन्न भएको छ ।

डा.कोइरालाले काभ्रेको धुलिखेलमा ८ जना केन्द्रीय सदस्यहरूलाई बोलाएर गोप्य भेला गरेको स्रोतले जनाएको छ । भेलामा के कुरा भयो भन्नेबारे नेताहरूले बाहिर बताउन रुचाएका छैनन् ।

प्रतिनिधि सभा विघटनको विषयमा कांग्रेसलाई अलमलमा राखेको भन्दै भेलामा सभापति शेरबहादुर देउवाको आलोचना भएको थियो ।

माघ २७ गते डा.कोइरालाले धुलिखेलको एउटा रिसोर्टमा ७ जना केन्द्रीय सदस्यहरूलाई बोलाए भेला गरेका थिए ।

डा.कोइरालाको भेलामा दीपक गिरी, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परिवार र बद्री पाण्डे सहभागी थिए ।

दीपक गिरी महामन्त्री डा.शशांक कोइराला निकट मानिन्छन् । गगन थापा नेता कृष्णप्रसाद सिटौला गुटमा छन् । चन्द्र भण्डारीको गुट स्पष्ट छैन । भण्डारीले छिटोछिटो गुट परिवर्तन गर्छन् । पछिल्लो समय उनी महामन्त्री डा.शशांक कोइराला निकट रहेको बताउने गरिएको छ ।

धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे र जीवन परियार वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका नेताहरू मानिन्छन् ।

कांग्रेस नेता डा.कोइरालाले सभापति देउवाको चर्को आलोचना गर्दै आएका छन् ।

१४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका डा.कोइरालाको धुलिखेल भेलाले काठमाडौंभित्र तरंग ल्याइदिएको छ । डा.कोइरालाले १४औँ महाधिवेशनको टिम तयारी स्वरुप धुलिखेल भेला गरेको चर्चा पनि छ ।

डा.कोइराला संसद पुनःस्थापनाको पक्षमा छन् । सभापति देउवा सर्वोच्च अदालतको फैसला जे आउँछ त्यसलाई मान्नुपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसद पुनःस्थापनाको पक्षमा छन् ।

Published : Saturday, 2021 February 13, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया