त्रिवि शिक्षण अस्पतालमा डा.महतले कांग्रेसका शुभेच्छुकहरूलाई भावुक बनाए

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले काठमाडौं उपत्यकामा नेपाल विद्यार्थी संघ (नेविसंघ)को संगठन गर्दाको कठिनाइ स्मरण गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ त्रिभुवन विश्व विद्यालय चिकित्सा अध्यन संस्थान इकाई महाराजगञ्जद्वारा शुक्रबार द्दारा आयोजित परिचयात्मक तथा संगठनात्मक सुदृढीकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा डा.महतले ०३३ सालतिर नेविसंघ प्रतिबन्धित अवस्थामा रहेको बताए ।

उनले ०३३ सालमा वीपी कोइराला स्वदेश फर्किएको बताए । डा.महतले त्यस बेला आफू त्रिभुवन विश्व विद्यालय चिकित्सा अध्यन संस्थान इकाई महाराजगञ्जको नेविसंघको अध्यक्ष रहेको बताए ।

‘हेल्थ असिस्टेन्टको विद्यार्थीका रुपमा म २०३३ सालमा भर्ना भएको थिएँ । डाक्टर हुन सकिने । परिस्थितिले हुन दिएन’, उनले भने, ‘३३ सालमा वीपी कोइराला स्वदेश फर्कनुभएको थियो । यो कलेजमा म नेविसंघको अध्यक्ष थिएँ ।’

त्यस बेला नेविसंघको अध्यक्ष शेरबहादुर देउवा थिए । देउवा ०२९ सालको महाधिवेशनबाट नेविसंघको अध्यक्ष बनेका थिए ।

‘नेविसंघ प्रतिबन्धित थियो । अन्तर उपत्यका ईकाइ समन्वय समिति बनाएका थियौँ’, डा.महतले भने, ‘उपत्यकाभित्र जागरण ल्याउने कार्य गरिएको थियो । त्यस बेला २–४ वटा क्याम्पसमा बाहेक अन्यत्र नेविसंघको हैसियत थिएन ।’

‘महाराजगञ्जमा हामीले नेविसंघ बनाएका हौँ’, सह–महामन्त्री डा.महतले बताए । सह–महामन्त्री डा.महतका कुरा सुनेपछि कार्यक्रममा रहेकाहरू भावुक बनेका थिए ।

कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले चिकित्सा क्षेत्रको महत्वको विषयमा धारणा राखेका थिए । उनले चिकित्सा क्षेत्रमा आएको उपलब्धि र कांग्रेसको भूमिका विषयमा जानकारी गराएका थिए ।

Published : Friday, 2021 February 12, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया