कांग्रेसको दवावमा कामचलाउ सरकार, कम्युनिस्टले मुख खोल्न सकेनन्

काठमाडौं । नेपाली कांग्रेसले भागरथी भट्टका बलत्कारी र हत्यारालाई पक्राउ गरेर कारबाहीको माग गरेको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरेर भट्टका दोषीलाई पक्राउ गर्न अनुसन्धानलाई तीब्र बनाउन माग गरेको छ । कांग्रेसले दोषीलाई अविलम्ब पक्राउ गरेर बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन माग गरेको छ ।

‘बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ’, कांग्रेसले भनेको छ ।

‘अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ’, कांग्रेसले भनेको छ, ‘अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ ।’

‘विकसित मुलुकमा पनि यस्तै हुन्छ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले वर्तमान सरकारको उदासीनता प्रकट गरेको छभने अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको छ’, कांग्रेसले भनेको छ ।

‘निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरू कानूनको कठघराभन्दा बाहिरै छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपील गर्दछ’, कांग्रेसले भनेको छ ।

‘यस्ता घटनामा न्यायका लागि नेपाली कांग्रेस सजगताका साथ कृयाशील रहँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवम् स्थानीयवासी र परिवारजनसंग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक शुक्रबार साँझ बैतडी पुगेको छ ।’

‘जघन्य अपराधका घटनामा न्यायका लागि अनि घटना हुनै नदिन सम्पूर्ण सजगताका लागि नेपाली कांग्रेस सबै नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीको गृह प्रशासनले काम गर्न नसकेको आरोप लागेका बेला भट्टका दोषी पक्राउ नपरेको विषयमा चौतर्फी आलोचना भएको छ ।

कम्युनिस्टहरूले भट्टको बलात्कारपछि हत्या गरिएको विषयमा धेरै चासो नदिएको आरोप लागेको छ ।

Published : Friday, 2021 February 12, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया