कांग्रेसले विदेशमा जनसम्पर्क समिति विस्तार गर्ने, अधिवेशनहरू गर्न निर्देशन

काठमाडौं । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले
नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समितिहरू विस्तार गर्दै लैजाने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको विभागको बैठकले बाँकी रहेका मुलुकहरूमा शाखा विस्तार गर्ने निर्णय गरेको विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।

‘सबै म्याद सकिएका नेपाली जनसम्पर्क समितिहरूलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशन गर्ने निर्णय भएको छ’, प्रमुख भट्टराईले भनेका छन् ।

विभागले प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले असंवैधानिक ढंगबाट संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको देशव्यापी विरोधका कार्यक्रमहरूमा व्यापक रुपमा जनसहभागिता जुटाउने निर्णय पनि गरेको छ ।

कोभिड–१९ बाट प्रभावित भई देशभित्र र बाहिर मृत्यु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

विभागले कोभिड–१९ बाट प्रभावित भई उपचारत रहेका सबै नेपालीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

‘कोभिड—१९ को जोखिम यद्यपि रहिरहेको हुँदा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै सुरक्षित रहन समेत बैठक आग्रह गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

‘कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली नागरिकहरूलाई राहत तथा उद्धारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ’, विभागका सचिव महेश थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2021 February 12, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया