बर्दियामा कांग्रेस बलियो बनेपछि वामदेव र कम्युनिस्टहरू ‘मुर्छित’, धमाधम प्रवेश

बर्दिया । नेपाली कांग्रेसका नेताहरूले मुलुकमा कम्युनिस्ट अधिनायकवाद ल्याउन ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं. ५ को वनवीरपुरमा बिहीबार आयोजित क्रियाशील भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने नेताहरूले कम्युनिस्ट अधिनायकवादलाई कांग्रेसले परास्त गर्ने बताए । उनीहरूले कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.गोपाल दहितले राष्ट्रियता र संविधानको रक्षा कांग्रेसका कार्यकर्ताहरूले गर्ने बताए । उनले कम्युनिस्टहरूको ज्यादती बढेको भन्दै गाउँबाट लोकतन्त्र र संविधानको रक्षा गरिने बताए ।

कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले कम्युनिस्टहरूका कारण लोकतन्त्र कमजोर भएको बताए । उनले कांग्रेस कमजोर भएका कारण राष्ट्रियता समेत संकटमा परेको बताए । ‘कांग्रेसले राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा गर्नेछ’, उनले भने, ‘कम्युनिस्टहरूको पतनका दिन आएका छन् । केपी ओली कम्युनिस्ट पार्टीको अन्तिम प्रधानमन्त्री बन्ने दिन आउँदैछ ।’

सावित्री ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य डा.गोपाल दहित, संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिना, बर्दिया कांग्रेसका सचिव मक्कुरराम थारु, महासमिति सदस्यद्वय तेजबहादुर भाट, विद्याप्रसाद खनाल, नेपाल ट्रेड युनियन कांग्रेसका सभापति डबलबहादुर विष्टलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा डा.दहित र तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गरेका थिए । सो कार्यक्रममा नेकपाका करीव एक सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

यसअघि, बुधबार ठाकुरबाबा नगरपालिकाको वाड नं. ४ मा क्रियाशील कार्यकर्ता भेला भएको थियो । बर्दियामा कांग्रेसले संगठन सुदृढीकरणको अभियानलाई निरन्तरता दिएका छन् । नेकपा आन्तरिक द्वन्द्वमा गएपछि बर्दियामा कांग्रेस बलियो हुँदै गएको छ ।

नेकपाका नेता वामदेव गौतमले एकता अभियानका नाममा अर्कै गुट बनाएपछि अलपत्र परेका नेकपाका नेता कार्यकर्ता कांग्रेसमा धमाधम प्रवेश गर्दै आएका छन् ।

Published : Thursday, 2021 February 11, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया