यी हुन् कांग्रेस बलियो बनाउन छाडेर नेताको नाममा एनजिओ चलाउनेहरू, डण्डा चलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले आफूलाई निर्वाचन केन्द्रित बनाएको छ । वैशाखमा हुने निर्वाचन होस् वा दुई वर्षपछि हुने निर्वाचन सबैका लागि कांग्रेस तयारी अवस्थामा छ । कांग्रेसलाई निर्वाचनबाट बहुमतसहितको ठूला पार्टी बन्छु भन्ने अपेक्षा छ । कांग्रेसका नेताहरूको अभिव्यक्तिले पनि त्यही देखाइरहेको छ । कांग्रेसले आफूलाई जनतामा केन्द्रित बनाउन शुरु गरिसकेका छन् । कांग्रेसका अधिकांश कार्यक्रम गाउँ केन्द्रित छन् ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह निर्वाचनबाट डराइरहेको छ । युवा पुस्तामा लोकप्रिय मानिएका गगन थापा पनि निर्वाचनबाट डराएका छन् । सभापति शेरबहादुर देउवा समूह मात्रै निर्वाचनका लागि तयारी अवस्थामा छ । पौडेल, सिटौला, थापाहरू निर्वाचनबाट डराएपछि कम्युनिस्टहरूको मनोवल उच्च भएको छ ।

कांग्रेसले संसद भङ्ग भएको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको छ । ओलीको कदमविरुद्ध कांग्रेसले आन्दोलन पनि गरिरहेको छ । पौडेल, सिटौला र थापाहरूले आन्दोलन हुन नसकेको भनेर अभिव्यक्ति दिइरहेका छन् । संसद भङ्ग भएको विषयमा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा रहेको विषयलाई कांग्रेसले प्रभावित बनाउनु हुँदैन ।

कांग्रेसले संविधान र लोकतन्त्रमा विश्वा गर्छ । कतिपयले कांग्रेसलाई उचालेर संसद पुनःस्थापनाको माग उठाएर आन्दोलन गर्न भनिरहेका छन् । कांग्रेसले आन्दोलन गरेको भए सर्वोच्चमा विचाराधीन विषयमा लोकतान्त्रिक दल भन्ने कांग्रेसले संविधान र स्वतन्त्र न्यायालयलाई नमानेको भनेर आलोचना हुने थियो । सभापति देउवाले लिएको नीति उचित छ भन्नेहरू पनि धेरै छन् ।

कांग्रेसमा व्यक्तिवादी चरित्र र स्वार्थ हाबी हुँदै गएको छ । त्यसको प्रभाव आन्दोलनमा परिरहेको छ । पौडेल र सिटौला समूहले प्रचण्ड–माधव नेपाल समूहतिर झुकाब राखेपछि कांग्रेसको आन्दोलन छिल्लो समय प्रभावहीन हुन थालेको छ । केन्द्रीय नेताहरूको मतभेद आन्दोलनमा देखिन थालेको छ । देउवा समूहले निर्वाचनको पक्षमा आफूलाई केन्द्रित बनाएको छ । देउवाले ओली समूहलाई साथ दिएको आरोप लाग्दै आएको छ । देउवाले ओलीलाई साथ नदिएको भए नेकपा विभाजन हुने अवस्थामा जाने थिएन ।

उता, कांग्रेसका केही नेताहरू ओलीविरुद्धको आन्दोलनमा सहभागी हुनुको साटो एनजिओ खोलेर कमाउ धन्दामा लागेका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले स्कलु अफ डेमोक्रेसी गठन गरेका छन् । महरले अधिकांश जिल्लामा आफ्नो एनजिओको शाखाहरू गठन गरिसकेका छन् ।

नेपाल तरुण दलको महासचिवबाट कारबाहीमा परेर निस्काशन भएका भुपेन्द्रजंग शाहीले वीपी कोइराला स्टडी युथ सर्कल गठन गरेका छन् । शाहीले आफ्नो फेसबुकमा सेयर गरेका समाचारले एनजिओलाई देशभरि बनाउने तयारीमा छन् । आन्दोलनमा सहभागी हुनुको साटो शाहीले पनि आफ्नो एनजिओमा धमाधम नियुक्तिहरू गरेका छन् ।

केन्द्रीय सदस्य गगन थापाले युथ कांग्रेस बनाएका छन् । थापाको एनजिओले पनि युवाहरूलाई भर्ती गरिरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयसँग अनुमतिनै नलिएर नेताको नाममा एनजिओ बनाउनेहरूलाई पहिला अनुशासन सिकाउनुपर्छ । होइन भने कांग्रेस भताभुङ्ग हुनेछ ।

सुजाता कोइरालाले गिरिजाप्रसाद फाउण्डेशन बनाएकी छिन् । यो एनजिओले देशभित्र मात्र नभइ विदेशमा पनि शाखा बनाएको छ । नेतृ मृदुला कोइरालाले सुशील कोइराला फाउण्डेशन चलाएकी छिन् ।

रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले पनि युवा सजगता अभियान नामक एनजिओ चलाएका छन् । पौडेलले पनि जिल्लाहरूमा संगठन विस्तार गरेका छन् । पौडेलले धमाधम एनजिओमा नियुक्तिहरू गर्दै आएका छन् ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले कांग्रेसको राजनीतिभन्दा पनि हिन्दू राष्ट्रको अभियानमा आफूलाई केन्द्रित बनाएका छन् ।

एनजिओ र धर्मका नाममा राजनीति गर्दै आएका युवा नेताहरू कांग्रेसलाई बलियो बनाउनेतिर कहिल्यै ध्यान नदिएको आरोप छ ।

एनजिओ र धर्मका नाममा राजनीति गर्नेहरू विधान मिचेर काम गर्दा पनि कांग्रेसको नेतृत्व बोलेको छैन । एनजिओ चलाउनेहरूकै बोलवाला छ । उनीहरूकै ठूलो स्वर हुने गरेको छ ।

जिल्लामा राम्रो हैसियत बनाएका कांग्रेसका नेताहरू एनजिओहरूमा मनोनीत हुन तछाडमछाड हुने गरेका छन् । एनजिओमा बस्न खोज्ने नेताहरूले आफ्नो राजनीतिक उचाइँ घटाइरहेका छन् । यस्ता संगठनले कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा भएको चर्चा छ ।

एनजिओ चलाउने नेताहरू सबै कांग्रेसमा सम्भावना बोकेका छन् । तर, राजनीतिभन्दा पनि उनीहरू एनजिओ मोहमा लागेका छन् ।

Published : Thursday, 2021 February 11, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया