कांग्रेसले भनेको कम्युनिस्ट ठग हुन् भन्ने कुरा प्रचण्डद्वारा पुष्टि, कांग्रेसको खुट्टा ढोग्न आइपुगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई ‘ठग’ भनेर आलोचना गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा बुधबार नेकपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा दाहालले ओलीले ठग भनेर आलोचना गरेका हुन् । दाहालले ओलीलाई ठगी धन्दा चलाएको आरोप लगाएका छन् ।

‘केपी ओलीको ठगी धन्दा हो । ओली ठग हो । नाटक हो । कसरी ठग्नु हुन्छ मैले तीन वर्षमा देखे’, नेकपाका अध्यक्ष दाहालले भनेका छन् ।

सुकुम्वासी आयोग बनाएर जग्गा वितरण गर्ने कुरा ओलीको ठगी रहेको दाहालले बताएका छन् ।

‘ओलीबाट माखो मर्दैन । सुकुम्वासी आयोगले काम गर्दैन’, उनले भने, ‘सुकुम्वासीलाई जग्गा हामीले दिन्छौँ ।’

दाहालले निर्वाचन आयोगलाई ठगी धन्दाको पछि नलाग्न आग्रह गरेका छन् । ‘निर्वाचन आयोगले राम्रो संकेत दिएको छैन’, आयोगले आफूहरूलाई वैधता दिनेतर्फ संकेत गर्दै उनले भने, ‘आयोगलाई ठगी धन्दाको पछाडि नलाग्नुस् मात्रै भनेका हौँ ।’

नेपाली कांग्रेसले कम्युनिस्ट र कम्युनिस्टहरूले झुठको खेती गरेर जनता झुक्काउने गरेको आरोप लगाउँदै आएको छ । नेकपाका अध्यक्ष दाहालले नै बुधबारको विरोध सभालाई सम्बोधन गर्दै ओलीलाई ठग भनेर कांग्रेसको आरोपलाई पुष्टि गरेका छन् ।

दाहालले ओलीका दुई जना मन्त्रीसँग आफ्नो कुरा भइरहेको बताएका छन् । उनले दुई जना मन्त्रीलाई आफूहरूतिर ल्याइने बताए ।

बुधबारको विरोध सभामा पाँच लाख कार्यकर्ता ओरालेको दाबी दाहालले गरेका छन् । उनले भने, ‘ओली सुध्रिएनन् भने बालुवाटार र सिंहदरबारमा दश लाख जनता ल्याएर घेराउ गर्न नपरोस् ।’
ओलीको चुनावी नौटंकीमा कोही पनि नलाग्न दाहालले आग्रह गरेका छन् ।

नेपाली कांग्रेसप्रति असन्तुष्ट देखिएका नेकपाका अध्यक्ष दाहालले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाका लागि मिलेर ओलीविरुद्ध आन्दोलन गर्न आग्रह गरेका छन् ।

नेकपा कानूनी रुपमा विभाजन भएको छैन । नेकपाको पहिलो अध्यक्ष ओली हुन् । दोस्रो वरीयताका अध्यक्ष दाहालनै हुन् । दाहालले आफ्नै अध्यक्ष ओलीलाई ठग भन्नु आफू र कम्युनिस्टहरू सबै ठग भएको स्वीकार गर्नु रहेको भन्दै चर्चा शुरु भएको छ ।

‘लोकतान्त्रिक छवि बनाएको कांग्रेस कुनै भ्रममा पर्न आवश्यक छैन’, दाहालले भने, ‘शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको हो । संघीय लोकतान्त्रिक मुलुकलाई गिरिजाप्रसादले घोषणा गर्नुभएको हो । कांग्रेसले सम्झिनुभएको होला ।’

‘प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान बनेको हो । कांग्रेसले सुशील कोइरालालाई फादर अफ कन्सिच्युशन भन्नु हुन्छ । देउवाजी हुनुहुन्छ । संयुक्त आन्दोलन गरौँ । ओलीको निरंकुशता परास्त गर्ने कांग्रेसलाई अवसर हो । अवसर गुम्न नदिनुस् । हामी हातेमालो गर्न तयार छौँ ।’

अध्यक्ष दाहालले नाम नलिएर भारतले आफूहरूको आन्दोलनलाई समर्थन गर्नुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय जगतले नेपालमा लोकतन्त्रको हत्या भएको हेरेर बसेका छन्’, उनले भने, ‘संसारकै ठूलो लोकतान्त्रिक देश ठान्ने हाम्रो छिमेकीले बोल्नुपर्छ । हाम्रो आन्दोलनमा सहयोग चाहेका छौँ ।’

दाहालले ओलीविरुद्धको आन्दोलनमा एक्लै केही गर्न नसक्ने अवस्था भएपछि कांग्रेसको खुट्टा ढोग्न आइपुगेका छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा धोका दिएका दाहालले कांग्रेसलाई भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयरमा जिताएपछि ओलीसँग मिल्न पुगेका थिए । ओलीले अहिले दाहाललाई सडकमा ल्याइदिएका छन् ।

गृहमन्त्री रामबहादुर थापालाई दाहालले दिमाग नभएको नेता भनेर आलोचना गरेका थिए ।

Published : Wednesday, 2021 February 10, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया