सभामुखको भतिजा र मेयरले जनताको ८५ लाख खाए, कम्युनिस्टलाई कांग्रेसले भाटेकारबाही गर्ने

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरूले जनतालाई ढाँटेर बेबकुफ बनाएर जितको कुरा अहिले आएर पुष्टि भएको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नं. ६ गातीमा मंगलबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले पाँच वर्षको लागि जनताले सरकार चलाउन पठाएकोमा तीन वर्षमै संसद भङ्ग गरेर असक्षमता देखाएको बताए । उनले कम्युनिस्टहरूले झुठको खेती गरेर झण्डै दुईतिहाइको बहुमत पाएको कुरा संसद भङ्ग गरेर देखाएको बताए ।

झण्डै दुईतिहाइ बहुमत पाएका कम्युनिस्टले चाहेको भए कानून बनाएर पनि सरकार बनाउन सक्ने उनको भनाइ छ ।

‘माओवादी र एमालेले लफडा गरे । संविधानमा बबाल गर्न पुगे । संसद भङ्ग गरे’, उनले भने, ‘कानून बनाएर पनि सरकार बनाउन सक्थे । पैसा कमाउने, आफन्तलाई बनाउने नाममा झगडा गरे । संसद विघठन गरेका छन् ।’

आफैभित्रको लडाइँका कारण कम्युनिस्ट नेताहरूले सडकमा आएर कम्युनिस्टहरू गद्धार हो भनेर एकले अर्काको भण्डाफोर गरेको नेता बस्नेतले बताए ।

खेलकुद विभागका प्रमुख समेत रहेका कांग्रेस नेता बस्नेतले बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालाई सुध्रिन चेतावनी दिएका छन् । मेयर शेर्पाले बाह्रबिसेमा कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेपछि त्यसको विरोधमा कांग्रेसले विरोध गर्दै आएको छ । ‘कांग्रेस दिलदार छ ।

निमफुन्जोजी माफी माग्नुस् हामी माफी दिन्छौँ’, कांग्रेस नेता बस्नेतले भने, ‘बटारिन थाल्नुभयो भने ठीक हुनेछैन । बायाँबाट दायाँ बटारिँदा कांग्रेसको थप्पडले बायाँ र दायाँ बटारिनु होला ।’

हाइड्रोपावरबाट जनताले समस्या पाएको उनले बताएका छन् । सामाजिक क्षेत्रमा लगानी गर्न हाइड्रोले दिएको रकम कम्युनिस्ट नेताहरूले खाइदिएको कांग्रेस नेता बस्नेतले बताएका छन् ।

हाइड्रो पावरको टेण्डर हाल्न नदिन ४–५ सय गाउँलेलाई कम्युनिस्टले राहत दिन्छौँ भनेर झुक्काएर लगेको बताएका नेता बस्नेतले गलत काम गर्ने कम्युनिस्ट लठैतहरूलाई कांग्रेसका ८२ जना लडाकु केटाहरूले कुटेर लखेटेको उनले बताएका छन् । कम्युनिस्ट लठैतहरूले कुटाइ खाएको बताएका उनले लुटेर खानेहरूलाई सिन्धुपाल्चोकमा ठाउँ नरहेको बताए ।

कांग्रेसले काम गरेर खानुपर्छ भन्ने मान्ता राखेर युवाहरूलाई व्यवसाय र रोजगारी दिने गरेको बताएका छन् ।

बाह्रबिसेका मेयर शेर्पाले कांग्रेसका कार्यकर्तालाई कुट्छु भन्न थाल्यो आफूले सुनेको बताएका कांग्रेस नेता बस्नेतले मेयरलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् ।

‘कार्यक्रम गर्दा मेयर निमाफुञ्जु शेर्पाले कांग्रेसका कार्यकर्ता कुटेका छन् । बदला लिन्छौँ’, बस्नेतले भने, ‘कांग्रेसले कुटाइ खायो भने पहिला प्रहरी प्रशासनमा उजुरी गर्छौं । कारबाही भएन भने कांग्रेसले घरघरमा गएर भाटे कारबाही गर्छ ।’

बाह्रबिसेका मेयर निमफुन्जो शेर्पा जहिले पनि जेल जान सक्ने नेता बस्नेतले चेतावनी दिएका छन् । ‘मेयर निमफुन्जो शेर्पा भ्रष्टाचार, अपराधको काण्डमा जतिखेर पनि जेल जान सक्छन्’, बस्नेतले भने, ‘मेयर शेर्पा कानूनी कठघारामा नपरे उनलाई कांग्रेसको थप्पठ पर्छ ।’

मेयर निमफुन्जो शेर्पा, सरोज सहयात्री र सुवोध सापकोटाले हाइड्रोपावरबाट जनताको नाममा ८५ लाखभन्दा धेरै रकम उठाएर खाएको आरोप कांग्रेस नेता बस्नेतले लगाएका छन् । सुवोध सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भतिजा हुन् ।

कार्यक्रममा नेकपा छाडेर देवा दोर्जे तामाङ, सोमबहादुर तामाङ, बेखलाल श्रेष्ठ, दन्बा माइली, भीमलाल गुभाजु लगायत करीव १५० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेसका नेता बस्नेतले पार्टीमा स्वागत गरेका छन् ।

Published : Wednesday, 2021 February 10, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया