तरुणविरुद्ध उत्पात मच्चाएपछि गोरखाका तरुण अध्यक्षको जिम्मेवारी खोसियो

काठमाडौं । नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई जिम्मेवारीबाट हटाइएको छ ।

तरुण दलको आदर्श, सिद्धान्त र भावना बमोजिम संगठन निर्माणमा कृयाशील नभएको भन्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले थापालाई अध्यक्ष पदबाट हटाएका हुन् ।

गोरखा जिल्लाको नियमित सांगठनिक प्रक्रियामा सहभागी नभएको, केन्द्रबाट गरिएका नीति निर्देशनको पूर्ण पालना नगरेको, दलको केन्द्रीय समितिमा जिल्लाको सांगठनिक गतिबिधिको नियमित रुपले जानकारी नगराएको भन्दै अध्यक्ष बस्नेतले थापालाई जिम्मेवारीबाट हटाएका हुन् ।

‘नेपाल तरुण दल केन्द्रीय समितिको निर्णयानुसार यमबहादुर थापालाई नेपाल तरुण दल गोरखा जिल्लाको अध्यक्षबाट हटाइएको व्यहोरा यसै सूचनामार्फत सम्बन्धित सम्पूर्ण तरुण साथीहरूलाई जानकारी गराउँदै नेपाल तरुण दल गोरखा जिल्ला अध्यक्षको हैसियतमा यमबहादुर थापासंग कुनै काम व्यवहार नगर्न आग्रह गर्दै अन्यथा सो विषयमा दल कुनै जवाफदेही नहुने पनि जानकारी गराइन्छ’, अध्यक्ष बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ ।

थापालाई अध्यक्षबाट हटाइएको जानकारी तरुण अध्यक्ष बस्नेतले नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखालाई दिएका छन् ।

यसअघि तरुण दलको आचरण र अनुशासन विपरितको कार्य गरेपछि भुपेन्द्रजंग शाहीलाई महासचिव पदबाट हटाइएको थियो । शाही गुमनाम छन् । शाहीको हर्कतको चौतर्फी विरोध भएपछि अध्यक्ष बस्नेतले कारबाही गरेर महासचिव पदबाट हटाइदिएका थिए ।

Published : Tuesday, 2021 February 9, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया