रोशनी काण्डमा परेका महरालाई ‘प्रचण्ड–माधव’ले दिए ठूलो जिम्मेवारी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा गर्न लागेको सरकार विरोधी प्रदर्शनमा रोशनी शाही प्रकरणमा परेर काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले ठूलो जिम्मेवारी पाएका छन् ।

प्रचण्ड–माधव समूहले महरालाई बुधबार हुन लागेको विरोध प्रदर्शनमा ललितपुरको पुल्चोकबाट शुरु हुने विरोध जुलुसको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

महराले बुधबार बिहान ११ बजे पुल्चोकबाट कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा सहभागिता जनाउनेछन् ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका महरा रोशनी शाही काण्डपछि सार्वजनिक कार्यक्रमहरूमा बिरलै देखिने गरेका छन् ।

ओलीविरुद्धको आन्दोलनमा महराले मोर्चा सम्हाल्ने प्रयास गरेका छन् । महराले आफूलाई राजनीतिको लयमा ल्याउने प्रयासहरू गरेका छन् ।

रोशनी शाही काण्डमा बद्नाम भएका महराले कमाण्ड गर्ने बुधबारको जुलुसमा कति मान्छे देखिने हुन् चासोको विषय बनेको छ । महराले प्रचण्ड–माधव समूहको नेकपामा ठूलो भूमिका खोज्न थालेका छन् । उनले भूमिका पनि क्रमशः पाउने नेताहरूले बताउन थालेका छन् ।

महरालाई पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल, ललितपुरका सबै केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेशका कमिटी सदस्य, प्रतिनिधि सभाका पूर्वसांसद र प्रदेशका सांसदहरूले साथ दिनेछन् ।

रोशनी शाहीसँगको यौन दुर्व्यवहार काण्डमा महराले लामो समय कारागारमा बस्नु परेको थियो ।

रोशनी शाहीले बयान फेरेपछि महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए ।

महराको रोशनी शाहीसँगको यौनदुरव्यवहारसम्बन्धी मुद्धा ललितपुर उच्च न्यायालयमा विचाराधीन छ ।

Published : Tuesday, 2021 February 9, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया