सरकारी कम्युनिस्टलाई औकातमा बस्न कांग्रेस नेतृ प्रसाइँको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी पूर्वमुख्य सचेतक सरिता प्रसाइँले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाले सडकमा प्रदर्शनहरू गरेर मुलुकमा मुठभेड निम्त्याएको आरोप लगाएकी छिन् ।

झापाको बिर्तामोडमा शनिबार नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ प्रसाइँले जनताका काम गर्न छाडेर सत्तारुढ दल सडकमा मुठभेड निम्त्याउन सक्रिय भएर लागेको बताइन् ।

उनले जनताले दिएको म्याण्डेटलाई सहि रुपमा सरकार चलाएर देखाउन सुझाव दिएकी छिन् ।

पूर्वराज्यमन्त्री समेत रहेकी कांग्रेस नेतृ प्रसाइँले ओली नेतृत्वको नेकपा र त्यस दलका नेताहरूलाई आफ्नो जिम्मेवारीअनुसारको हैसियतमा रहेर काम गर्न सचेत गराएकी छिन् ।

कांग्रेस नेतृ प्रसाइँले ओली नेतृत्वको सरकारी नेकपाको आलोचना गर्दै आएकी छिन् ।

‘सरकारले मुलुक चलाउने हो । आमसभा गर्ने हो । जनताको सुरक्षा गर्ने हो’, उनले भनेकी छिन्, ‘सरकारले द्वन्द्व निम्त्याउने होइन । द्वन्द्व भड्काउने होइन । सडकमा गाली गर्दै हिँडने होइन ।’

प्रधानमन्त्री ओलीले संविधान विपरित संवैधानिक नियुक्ति गरेको भन्दै कांग्रेस नेतृ प्रसाइँले आलोचना गरेकी छिन् । उनले ओलीलाई संविधान विपरितका कुनै पनि कार्य गर्ने अधिकार नरहेको बताएकी छिन् ।

उनले प्रधानमन्त्री ओलीले संविधानलाई च्यातेर संवैधानिक नियुक्त पाएकाहरूलाई शपथ गराएको बताएकी छिन् ।

कांग्रेसले मजदुरको संरक्षण गरेको भन्दै उनले कांग्रेसकै पालमा श्रम ऐन ल्याइएको बताएकी छिन् ।

विरोध सभामा कांग्रेसका केन्द्रीय सदस्य सुधिर सिवाकोटी, झापा कांग्रेसका सभापति उद्धव थापा, नेताहरू दिल्ली सिटौला, कृष्ण हुमागाइँ, दीपक तामाङ, यज्ञप्रताप अधिकारी, योगेन्द्र पौडेललगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Monday, 2021 February 8, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया