तिमिल्सिनाद्वारा नेकपाका कार्यकर्तालाई कांग्रेसमा स्वागत, नालायक कम्युनिस्टको पछाडि नलाग्न अनुरोध

ठाकुरबाबा । नेपाली कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले कम्युनिस्टहरूको नालायकीपनाले गर्दा राष्ट्र, राष्ट्रियता र लोकतन्त्र कमजोर भएको बताएका छन् ।

गृहजिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा सम्मेलनलाई आइतबार सम्बोधन गर्दै तिमिल्सिनाले कम्युनिस्टहरूको अशंबण्डाको राजनीतिले जनताले दुःख पाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा नेता तिमिल्सिनाले नेकपाको सरकार नालायक रहेको बताए ।

‘कम्युनिस्टका नेताहरू आभका लागि अशंबण्डाको राजनीतिमा लागेका छन्’, उनले भने, ‘जनताले विश्वास गरेर दुईतिहाइ बहुमत दिँदा पनि सरकार चलाउन नसकेर संसद भङ्ग गरि नालायकीपना देखाएका छन् ।’ कम्युनिस्टहरू सत्ता चलाउन असफल र निकम्मा भएको उनले टिप्पणी गरेका छन् ।

निर्वाचनमा जनताका बीचमा गरेका कुरालाई कम्युनिस्ट सरकारले कुनै पनि कार्य नगरेको तिमिल्सिनाले बताए ।

‘गरिवका छोराछोरीले विद्यालय देख्न पाएका छैनन् । किताव हातमा छैन । कम्युनिस्ट नेताका छोराछोरीहरू महँगो स्कुलमा पढेका छन्’, उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा पनि सरकारले केही काम गर्न सकेको छैन ।’

कम्युनिस्टहरू कमिशनमा लागेर देशलाई भ्रष्टाचारमा डुबाएको तिमिल्सिनाले आरोप लगाए ।

राष्ट्रयता र लोकतन्त्रका लागि कांग्रेसले संरक्षण गर्ने उनले बताएका छन् । ‘अबको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्छ । हुतीहारा कम्युनिस्टहरूलाई हराउनुपर्छ’, उनले भने, ‘नेपाली जनताको अपमान गर्ने कम्युनिस्टलाई हराउनुपर्छ ।’

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २० जना स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा अमर चौधरी, भागीराम थारु, भीमबहादुर ओलीसहितका रहेका छन् । नवप्रवेशीहरूलाई कांग्रेसका युवा नेता तिमिल्सिनाले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेताहरू विद्याप्रसाद खनाल, छविलाल सापकोटा, गणेश आचार्य, दीपक तिमिल्सिना, पदम खड्का, ओमप्रकाश ढकाललगायतको नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 February 8, 12:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया