‘सिंघम’ डीएसपी ढुंगेललाई फसाउन खोज्ने षड्यन्त्र भताभुङ्ग, डन र गुण्डाहरूलाई तनाब

काठमाडौं । नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कुमोध ढुंगेललाई फसाउन विभिन्न षड्यन्त्रहरूलाई सर्वोच्च अदालतले भङ्ग गरिदिएको छ ।

‘सिंघम डीएसपी’का रुपमा परिचित ढुंगेललाई फसाउन विभिन्न खालका षड्यन्त्रहरू विरोधीहरूले गरेका थिए ।

शुक्रबार सर्वोच्च अदालतले डीएसपी ढुंगेललाई साधारण तारेखमा राख्न आदेश दिएको छ ।

सर्वोच्चको आदेशले विरोधीहरूलाई तनाब भएको छ । डीएसपी ढुंगेललाई नेपाल प्रहरीको सेवामा फर्कन बाटो खुलेको छ ।

२०७५ चैत २६ गते काठमाडौंस्थित लालेन्द्र शेरचनको घरमा शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा पक्राउ परेका व्यक्तिसँग फोन सम्पर्क गरेको देखिएपछि उनलाई निलम्बन गरिएको थियो ।

घटनामा महानगरीय प्रहरी अपराध महाशाखाले विक्रम श्रेष्ठसहित तीन जनालाई पक्राउ गरेको थियो ।

तिनै श्रेष्ठसँग भेटघाट गरेको र फोन सम्पर्क भएको देखिएको भन्दै ढुंगेललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा तत्कालीन गृहसचिव प्रेम राईले २०७६ वैशाख १९ गते निलम्बन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले ढुंगेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । निलम्बन फुकुवा भएसँगै ढुंगेल काममा फर्किएका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं उच्च अदालत पाटन पुगेको थियो । उच्च अदालत पाटनले गत पुस १६ गते ढुंगेलसँग १ लाख रुपियाँ धरौटी माग गरेको थियो ।

उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बम र जगतबहादुर थापाको संयुक्त इजलासले अपराधमा संलग्न विक्रम श्रेष्ठलाई डीएसपी ढुंगेलले पाँच पटकसम्म फोन गरेको, घटना भएका दिन श्रेष्ठसँग ढुंगेलले चक्रपथमा रहेको भेनस रेस्टुरेन्टमा भेट गरेको भन्दै धरौटी माग गरेको थियो ।

उच्च अदालतले धरौटी मागेपछि उनी स्वतः निलम्बन भएका थिए । उच्चको आदेशविरुद्ध ढुंगेल माघ १३ गते सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्चको निर्णय उल्टाउँदै डीएसपी ढुंगेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

‘काठमाडौंमा लुटपाट भएको भनिएको २०७५ चैत २६ रहेको तर उनी २७ गतेसम्म इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हाजिर रहेको देखिएकाले लुटपाटमा संलग्नसँग काठमाडौंमा भेट भएको भन्न मिल्दैन’, आदेशमा भनिएको छ ।

अन्य प्रमाणबाट पनि लुटपाट भएको समयमा डीएसपी ढुंगेल काठमाडौंमा रहेको भन्ने प्रमाण फेला नपरेकोले उनीविरुद्ध धरौटी लिन नमिल्ने तर्क सर्वोच्चको छ ।

डीएसपी ढुंगेल भेष बदलेर गरिने अनुसन्धानमा पोख्त प्रहरी अफिसरका रूपमा चिनिन्छन् ।

ढुंगेलले ठूला–ठूला अपराधका अपराधी पत्ता पक्राउ गर्नेदेखि डुण्डाहरूको इन्काउन्टर गरेर चर्चामा आएका थिए ।

ढुंगेललाई फसाउन प्रहरी संगठनभित्रकै केही उच्च अधिकारीहरू सक्रिय रहेको आरोप लाग्दै आएको छ ।

Published : Friday, 2021 February 5, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया