खुमलटार र कोटेश्वरमा सन्नाटा, ‘सरकारी’ नेकपाले डाक्टर पठाइदिने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा गरेको वृहत जनसभाको उपस्थिति देखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले ठूलो तनाब भएको छ ।
ओली समूहले शुक्रबार दरबारमार्गमा हजारौँ कार्यकर्ता उतारेपछि ‘प्रचण्ड–माधव’ समूहलाई तनाब भएको हो । ओली समूहले दुई लाख वीस हजार कार्यकर्ता उतारेको दाबी गरेको छ । ओली निकटका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले दुई लाखभन्दा धेरै कार्यकर्ता सडकमा उतारेको दाबी गरे ।
न्यौपानेले भने, ‘हाम्रो सभा बिथोल्न ‘प्रचण्ड–माधव’ले नेपाल बन्द गरे । विभिन्न खालका भ्रामक प्रचार गरे । तर, पनि शुक्रबार सानदार प्रदर्शन गरेका छौँ ।’
सभाभन्दा पहिला सरकारी नेकपाका नेता कार्यकर्ताले विभिन्न स्थानबाट र्याली निकालेका थिए । उनीहरूले ‘प्रचण्ड–माधव’विरुद्ध नारावाजी गरेका थिए । निर्वाचनको पक्षमा पनि उनीहरूको नारावाजी थियो ।
‘प्रचण्ड–माधव’ निकटको युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले सरकारी नेकपाको वृहत जनसभालाई कोण सभा भनेर टिप्पणी गरेका छन् । ‘हजुरहरूले भन्नुभा’को थियो सभा कस्तो हुन्छ देखाउँछौँ’, सापकोटाले भने, ‘हामीले हे¥यौं कोणसभा जस्तो हुँदोरहेछ ।’
ओली समूहका केन्द्रीय सदस्य न्यौपानेले दरबारमार्गको जनसभामा सहभागी कार्यकर्ता नदेख्नेहरूलाई आँखा अस्पतालमा गएर नेत्र जाँच गराउने सुझाव दिएका छन् । ‘दरबारमार्गको वृहत जनसभाका कार्यकर्ता नदेख्नेहरूलाई घरघरमा चस्मा पठाइदिन्छौँ’, उनले भने, ‘दुई लाखभन्दा धेरै कार्यकर्ता आएका थिए ।’ नेता न्यौपानेले चाहियो भने कोटेश्वर र खुमलटारमा आँखाको डाक्टर पठाइदिने बताए ।
ओली समूहको सभा विथोल्न ‘प्रचण्ड–माधव’ समूहले बिहीबार नेपाल बन्दको आह्वान गरेको थियो ।
नेकपा विभाजन भएपछि ओली नेतृत्वको सरकारी नेकपाले पहिलो पटक काठमाडौंमा शक्ति देखाएको छ । सरकारी नेकपाको सभामा राम्रो उपस्थिति रहेको जनाइएको छ ।
महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका जुनियर अधिकृतले दरबारमार्गमा करीव वीस हजार कार्यकर्ताको उपस्थिति रहेको बताएका छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया