कम्युनिस्टले गर्दा देश गम्भीर मोडमा पुग्यो, कांग्रेसले सहि ठाउँमा ल्याउँछः नेता बस्नेत

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले कम्युनिस्टहरूको भागबण्डाका कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक खेलकुद संघको घोषणा सभालाई बुधबार पोखरामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले कम्युनिस्टका कारण धरासायी बनेको मुलुकलाई सहि बाटोमा ल्याउने दायित्व कांग्रेसको काँधमा आएको बताए ।

कम्युनिस्टभित्रको आन्तरिक झगडाले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रनै धरापमा परेको उनले बताएका छन् ।

‘अब लोकतान्त्र बचाउनको निमित्त कांग्रेसले जिम्मेवारी पूर्ण भूमिका निभाउनुपर्ने बेला आएको छ’, कांग्रेस नेता बस्नेतले भने, ‘युवा र तरुणहरू तयारी अवस्थामा रहनुपर्छ । कम्युनिस्टको अधिनायकवादलाई परास्त गर्नुपर्छ ।’

बस्नेतले कांग्रेस संवैधानिक सर्वोच्चतामा विश्वास गर्ने पार्टी भएकोले सर्वोच्च अदालतले जे निर्णय गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् ।

देशमा भएका विभिन्न घटनाहरूमा अनुसन्धान गर्दै जाँदा भ्रष्टाचार, आपराधिक कृयाकलापमा कम्युनिस्टहरूनै संलग्न देखिएको कांग्रेस नेता बस्नेतले आरोप लगाएका छन् ।

‘अब उप्रान्त पनि यो मुलुकमा कम्युनिष्टहरूले सरकार चलाइरहने हो भने मुलुकलाई कंगाल बनाउने निश्चित छ’, उनले भनेका छन् । नेता बस्नेतले कांग्रेस अझ जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

बस्नेतले खेलकुद संघका मनोनीत लगायत सिङ्गो टिमलाई बधाई तथा शुभकामना समेत दिएका छन् । आगामी दिनमा कांग्रेसको खेलकुद विभागले लोकतान्त्रिक खेलकुद संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

पोखराको चिप्लेढुङ्गामा बाक्लो उपस्थितिका बीच भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा खेलकुद विभागका सचिव एवम् कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले खेल क्षेत्रको विकास कांग्रेसले मात्रै गर्ने बताए ।

उनले खेल क्षेत्रमा कम्युनिस्टहरू मच्चाएको भ्रष्टाचार र अराजकताका विरुद्ध खेलकुद विभागले नेतृत्व लिएर हिसाब किताब माग्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघले देशका विभिन्न प्रदेश तथा केन्द्रीयस्तरमा खेलका विविध विधामा दख्खल प्राप्त खेलप्रेमी व्यक्तिहरूलाई मनोनीत गरेको छ ।

कार्यक्रममा नेता शुक्रराज शर्मा, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, खेलकुद विभागका सचिव महर्जनलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2021 February 3, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया