कम्युनिस्टले देखाए औकात, पोखरेलसँग प्रचण्डले सकेनन्, पत्नी–ज्वाइँ–दाई–बहिनी–छोरी मालामाल

बुटवल । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले परिवारवादमा केन्द्रित रहेको भन्दै आलोचना भएको छ ।

ओलीको कामचलाउ कम्युनिस्ट सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोगमा दाङ जिल्लाको अध्यक्षमा पोखरेलका बहिनी ज्वाइँ शिवकुमार आचार्यलाई मनोनीत गरेको छ । राजनीतिक पहुँच र शक्तिको आडमा पोखरेलले आफ्ना बहिनी ज्वाइँलाई आयोगको जिल्लाको अध्यक्षमा नियुक्त गरेको भन्दै आलोचना भएको छ ।

कामचलाउ कम्युनिस्ट सरकारले ७७ वटा जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।

माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गर्नेक्रममा लुम्बिनी प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाइँ आचार्य अध्यक्षमा नियुक्त भएका हुन् ।

समितिको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन मनोनीत भएका छन् । उनीहरू ओली गुटको नेकपाका नेताहरू हुन् ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारीलाई नियुक्त गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् ।

मुख्यमन्त्री पोखरेलले यसअघि आफ्नी बहिनी मेनका पोखरेल (शिवकुमार आचार्यकी पत्नी)लाई विभाजित ओली समूहको नेकपाको केन्द्रीय सदस्य बनाएका छन् ।

आफ्नै दाई देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोराही उप–महानगरको ईञ्चार्ज बनाएका थिए ।

मुख्यमन्त्री पोखरेलकी पत्नी सुजिता शाक्य विघठित प्रतिनिधि सभाको जनजाती कोटाबाट समानुपातिक सांसद थिइन् ।

दाङ जिल्लामा आयोगको अध्यक्षमा मुख्यमन्त्री पोखरेलले आफ्नै बहिनी ज्वाइँ आचार्यलाई नियुक्त गरेपछि पूर्वएमालेका तत्कालीन अध्यक्ष जोगबहादुर रानाले सामाजिक सञ्जालमा ‘मुख्यमन्त्रीले तागत देखाएको’ भनेर आलोचना गरेका छन् ।

‘देख्यौ त तागत । आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाई उप–महानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष । गणतन्त्र कसलाई आएको रहेछ ?’, रानाले भनेका छन् ।

काठमाडौंको कोटेश्वरमा भव्य भवन बनाएर बस्दै आएका मुख्यमन्त्री पोखरेल बेलाबेला विवादमा आइरहन्छन् ।

केही दिन अगाडि रोल्पाको धाङ्सी खोलामा गएको असोजमै ठेक्का सम्झौता भई २५ प्रतिशत भौतिक प्रगति रहेको पुलको शिलान्यास गरेर विवादमा तानिएका थिए ।

पुलको शिलान्यास पोखरेलले आफ्नी पत्नी शाक्यसँगै गरेका थिए । पोखरेलले कुनै पनि कार्यक्रममा आफ्नी पत्नी शाक्यलाई सँगै लिएर हिँड्ने गरेका छन् । पोखरेलकी एउटी छोरी चीनमा अध्ययन गर्छिन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी, ज्वाइँ, भाईलगायतलाई अवसर दिएर परिवारवादमा केन्द्रित रहेको आरोप ओलीले लगाएका छन् । ओलीकै विश्वासपात्र मुख्यमन्त्री पोखरेलले प्रचण्डको परिवारवादलाई चुनौति दिएर राजनीतिक पदहरू सबै ओगटेको चर्चा छ ।

परिवारका सदस्यहरूलाई राजनीतिक र अन्य व्यक्तिगत लाभ दिएको विषयमा लागेको आरोपका विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री पोखरेलसँग सम्पर्क हुन सकेन ।

स–साना कुरामा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट प्रतिक्रिया दिने पोखरेलले मंगलबार राति दश बजेसम्म कुनै प्रतिक्रिया लेखेका छैनन् । उनको सचिवालयले पनि केही भनेको छैन ।

Published : Tuesday, 2021 February 2, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया