कम्युनिस्टहरू पार्टी फुटाउन हिँडेपछि दाङमा कांग्रेस नेता खनालद्वारा गाउँ छिरे

घोराही । नेपाली कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता राजु खनालले कम्युनिस्टहरू असफल भएका कारण कांग्रेसको काँधमा देश र जनताको हितमा काम गर्ने दायित्व आइपुगेको बताएका छन् ।

गृहजिल्ला दाङमा स्थानीय नेता कार्यकर्ताहरूसँग मंगलबार भएको भेटघाटका क्रममा खनालले जनताले दुईतिहाइ बहुमत दिँदा पनि कम्युनिस्टहरूले सरकार चलाउन नसकेको बताए । खनालले कम्युनिस्टहरू भ्रष्टाचार, अराजकता, कमिशन, कमाउ धन्दा आदिमा संलग्न भएका कारण जनताले सेवा सुविधा पाउन नसकेको कांग्रेसका युवा नेता गणेश बेल्वासेले जानकारी दिए ।

पूर्वसांसद समेत रहेका नेता खनालले कांग्रेसले गरेको विकासलाई कम्युनिस्टहरूले गफ लगाएर जनतालाई झुक्काइरहेको बताएका छन् ।

नेता खनालले घोराही उप–महानगरपालिकाको रमना, गुर्जे, हापुर बग्गे, सिस्नेरीका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा कांग्रेस नेता खनालसँग गाउँको विकास, कांग्रेसको नेतृत्व मिलेर जानुपर्ने, कम्युनिस्टहरूको ज्यादतिका विषयमा गुनासाहरू राखेको बेल्वासेले बताए । नेता खनालले अहिलेको अवस्थामा एकले अर्कालाई आलोचना गर्नेभन्दा पनि मिलेर जानुपर्ने समय आएको बताएका थिए ।

दाङका विभिन्न गाउँहरूमा कांग्रेसका नेता कार्यकर्ताहरूको घर, टोलहरूमा पुगेर संगठन निर्माणको कामहरू गर्दै आएका युवा नेता खनालले कम्युनिस्टहरूलाई जनताले दिएको दुईतिहाइको मतको कदर गर्न नसकेको बताएका छन् ।

भेटघाटका क्रममा वडा सभापति बासु गौतम, कुलबहादुर बस्नेत, लोकबहादुर थापा, टेकबहादुर बुढाथोकी, ईश्वर केसी, रमा गौतम, दीपक न्यौपाने, गोविन्द दाहाल, श्रीधर उप्रेती, क्षेत्र बिक, रामप्रसाद राईलगायतको उपस्थिति रहेको थियो ।

कम्युनिस्टहरू आन्तरिक झगडामा लागेर पार्टी विभाजनतिर लागेपछि कांग्रेस नेता खनाल गाउँका कार्यकर्ताहरूसँग भेटघाटमा लागेका हुन् ।

Published : Tuesday, 2021 February 2, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया