राणा–राजाको जुठो खाएका कम्युनिस्टको पछि लाग्ने प्रहरी प्रशासनको तरुणले राख्यो रेकर्ड

मन्थली । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले राणा र राजाको जुठो खाएर जन्मिएका कम्युनिस्टसँग कांग्रेसको सहकार्य नहुने बताएका छन् ।

रामेछाप जिल्लाको मन्थलीमा सोमबार कांग्रेसका भ्रातृ संस्थाहरूले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कम्युनिस्टहरू पञ्चायतको कोखबाट जन्मिएको बताए ।

‘पञ्चायती कोखबाट जन्मिएको कम्युनिस्ट । मण्डले प्रवृत्तिबाट जन्मिएको कम्युनिस्ट । राणा र राजाका जुठो खाएर जन्मिएका कम्युनिस्ट हामी मिल्न सक्दैनौँ’, उनले भनेका छन् ।

‘सत्तामा रहेको कम्युनिस्ट किन नहोस्, त्यो सडकमा रहेको कम्युनिस्ट किन नहोस् । त्यो जंगलमा रहेको कम्युनिस्ट किन नहोस् हामी कुनै कम्युनिस्टसँग मिल्दैनौँ’, उनले भने, ‘कम्युनिस्ट भनेका लोकतन्त्र र कांग्रेस विरोधी हुन् ।’

बस्नेतले संविधानको उल्लंघन कसैले गर्न नहुनेभन्दै सर्वोच्च अदालतलाई धम्कीको भाषा कसैले बोल्न नहुने बताएका छन् । उनले चार जना पूर्वन्यायाधीशहरूले न्यायालयलाई दिएको दवावको विरोध गरे । अध्यक्ष बस्नेतले पूर्वप्रधानन्यायाधीशहरूलाई पेन्सन छाडेर कुनै राजनीतिक दलमा आवद्ध भएर बोल्न चेतावनी दिएका छन् ।

कम्युनिस्टहरू भनेको चोर, डाँका, फटाह भएको अध्यक्ष बस्नेतले दाबी गरेका छन् । उनले कम्युनिस्ट र राजावादीहरूलाई जिताउने ठेक्का कांग्रेसले नलिने बताएका छन् । ‘हिजोका दिनमा गल्ती भएका छन्’, उनले भने, ‘त्यो गल्तीलाई सुधार गर्नुपर्छ । कम्युनिस्टलाई जिताउने होइन । राजावादीलाई जिताउने होइन ।’

अध्यक्ष बस्नेतले केपी ओलीसहितका कम्युनिस्टहरूलाई सहि रुपमा डोर्‍याएर जानुपर्ने दायित्व कांग्रेसमा आएको बताएका छन् ।

कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा बालुवाटार बेचेर खाएको तरुण अध्यक्ष बस्नेतले बताएका छन् । उनले सर्प पाल्न झलनाथ खनालले लिएको ७२ करोड रुपियाँ सरकारलाई फिर्ता गरेर कोरोनाविरुद्धको खोप किन्न सुझाव दिएका छन् ।

संविधानको उल्लंघन हुँदा तरुण दलले संविधान र लोकतन्त्रको रक्षाका लागि सडकमा बोल्दा कथित वुद्धिजीवीहरूले आन्दोलन रोक्न आग्रह गरेको उनले स्मरण गरेका छन् ।

‘नागरिक समाज र वुद्धिजीवीका नाममा कांग्रेसलाई दवावमा राख्न खोज’, उनले भने, ‘संविधान मिच्दा बोल्न नसक्नेहरूले बल्ल संविधान मिचेको देखेका छन् ।’ जनतामा अभिमत ल्याउन जानबाट कसैले रोक्न नहुने उनले बताएका छन् ।

तरुण अध्यक्ष बस्नेतले भने, ‘३३ किलो होइन, ३३ क्वीन्टल हो । ओलीको घरबाट सुन निकाल्ने दिन आउन सक्छ ।’

प्रचण्डले आफूलाई बाघ भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका तरुण अध्यक्ष बस्नेतले भने, ‘कम्युनिस्टहरू स्याल हुन् । बाघ भनेको कांग्रेस हो । स्यालको रज्याइँ गर्नेहरूले बाघको कुरा गर्ने होइन ।’

अब कम्युनिस्टहरूसँग लड्ने दिन आएको अध्यक्ष बस्नेतले बताएका छन् । ‘कम्युनिस्टसँग अन्तिम लडाइँ हुनुपर्छ’, उनले भने, ‘यो देश हामी कांग्रेसले बनाउने हो ।’ कम्युनिस्ट भनेका गरिवलाई लुट्ने, मार्नेहरू भएको उनले बताएका छन् ।

माधव नेपालले १५ वर्ष अगाडि अरुण तेस्रो चाहिँदैन भनेर रोकेको बताएका तरुण अध्यक्ष बस्नेतले कम्युनिस्टका कारण मुलुकमा लोडसेडिङ भएको बताएका छन् ।

तरुण अध्यक्ष बस्नेतले रामेछापसहित ७७ जिल्लामा तरुण नेता र अध्यक्षहरूलाई मुद्धा लगाएर दुःख देखाएको बताएका छन् ।

‘प्रहरी प्रशासनले हाम्रा तरुणलाई धेरै दुःख नदेउ । हामीले रेकर्डा राखेका छौँ । झुठो मुद्धा लगाउने कुरा रोक’, बस्नेतले भने, ‘मुद्धा लगाउने भए मलाई लगाउ । अध्यक्षहरूको अध्यक्ष पनि म नै हुँ । मेरो निर्देशनमा सबै कुरा भएका हुन् ।’

Published : Monday, 2021 February 1, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया