कांग्रेस नेता खाँणले दिए न्यायालयमा उथलपुथल हुने चेतावनी

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले जनताको गोपनीयता टेप गर्ने अपराधजन्य व्यवस्था राखेर विधेयक ल्याएको भन्दै प्रधानमन्त्री केपी ओलीको विरोध गरेका छन् ।

रुपन्देहीको भलवारीमा सोमबार आयोजित कम्युनिस्ट सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले संसदमा पेश गरिएको राष्ट्रिय अनुसन्धान विभागलाई अधिकार दिएर ल्याइएको विधेयकको विरोध गरे । उनले सबै जनताको टेलिफोन टेप गर्न सक्ने व्यवस्था राखिएको विधेयकप्रति आपत्ति जनाए ।

उनले सर्वसाधारण, नेता, मन्त्री, राष्ट्रपति सबैको टेलिफोन टेप गर्ने विधेयक ल्याएर जनताको अधिकारमाथि कुठाराधात गरेको बताए ।

लोकतन्त्रलाई समाप्त गर्न ओलीले संसद भङ्ग गरेको भन्दै नेता खाँणले प्रधानमन्त्री ओलीले संसदको हत्या गरेको बताए । उनले कम्युनिस्टहरू लोकतन्त्र विरोध भएको भन्दै लोकतन्त्र बलियो भयो भने मात्रै राज्यका सबै अंग र निकायहरू बलियो हुने बताए ।

उनले आठ महिनादेखि ओली प्रधानमन्त्री कार्यालय नगएको बताए । उनले प्रधानमन्त्री कार्यालय मातहतमा राष्ट्रिय अनुसन्धान विभागदेखि सबै विभागहरू राखेको भन्दै विरोध गरे ।

विघठित प्रतिनिधि सभामा कांग्रेसको प्रमुख सचेतक समेत रहेका नेता खाँणले ओलीले संविधान विपरितका विधेयकहरू ल्याएर अपराधजन्य कानून बनाएको बताएकाा छन् ।

‘ओली प्रधानमन्त्री भएकै दिनदेखि संविधानमाथि थिचोमिचो गर्ने काम भएको छ’, उनले भने, ‘ओलीजीले संसद, राजनीतिक दललगायतलाई कमजोर बनाउने काम गर्नुभएको छ ।’

ओलीले राष्ट्रपतिलाई संविधानमाथि लैजान खोजेको भन्दै खाँणले भने, ‘ओलीजी आफूपनि संविधानभन्दा माथि उडीरहनुभएको छ । ओलीको चट हुने दिन आएको छ ।’ जनता र लोकतन्त्र कमजोर भयो भने अदालत पनि कमजोर हुने उनले बताएका छन् ।

कांग्रेस नेता खाँणले संविधान बनाउँदा अदालतलाई कार्यपालिकाको लाचार छायाँ नबनाएको बताए । सरकारमा बसेकाहरूको आदेशलाई लुरुलुरु मानेर न्यायालय अगाडि जान नहुने उनले बताएका छन् ।

कांग्रेस नेता खाँणले संविधानभन्दा बाहिर गएर संसद विघठनसम्बन्धी फैसला गर्‍यो भने जनताले निर्णय स्वीकार नगर्ने चेतावनी दिए ।

‘अदालतसँग मेरो आग्रह छ, चेतावनी छ । संविधानमा जे प्रावधान छ त्यो प्रावधानभन्दा बाहिर गएर निर्णय गरियो भने नेपाली जनताले पुस्तौसम्म मान्नेछैन । संविधानभन्दा बाहिर गएर फैसला भयो भने न्यायको इतिहासमा कलंक हुनेछ’, उनले भने, ‘संविधानको कुन धारामा छ संसद भङ्ग गर्ने ?’

उनले भने, ‘संसद विघठन भएको कुरा सडकमा हिँड्ने सानो बच्चाले पनि असंवैधानिक भनेको छ ।’ कांग्रेस नेता खाँणले लहडमा संसद भङ्ग नहुने बताए । कम्युनिस्टले लोकतन्त्र र संविधान सभाबाट बनेको संविधानलाई संसारमा कतै पनि नमानेको उनले बताएका छन् ।

कार्यक्रममा कांग्रेस नेता भरतबहादुर शाह, बद्री पाण्डेलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 February 1, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया