सर्वोच्चले छिटो फैसला दिनुपर्छ, कांग्रेस एउटा कोर्समा जान्छः डा.महत

नुवाकोट । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले संसद विघठनसम्बन्धी विषमा छिटो फैसला दिन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।

नुवाकोटमा सोमबार नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले आयोजना गरेको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै डा.महतले सर्वोच्चले मुद्धालाई धेरै लम्बाउन नहुने बताए । उनले संसद विघठनको विषयलाई गहिरो अनुसन्धान गर्नुपर्ने कुरा नरहेको भन्दै संविधानलाई हेरेर फैसला गर्नुपर्ने बताए ।

‘सर्वोच्चले संसद विघठनको मुद्धा धेरै लम्बाउनु हुँदैन । चाँढोभन्दा चाँढो निर्णय दिनुपर्छ’, डा.महतले भने, ‘सर्वोच्चको फैसला आयो भने त्यसपछि कांग्रेस कुन कोर्समा जाने हाम्रो पार्टीले निर्णय लिन्छ ।’

सह–महामन्त्री डा.महतले सर्वोच्चको फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताए । उनले चुनावको बाटो सबैभन्दा उपयुक्त भएको बताएका छन् ।

संसद विघठन भएर मुलुकको यो अवस्था आउनुमा केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालको दोष बराबर रहेको उनले बताएका छन् ।

‘संसद विघठन गरेर ओलीजीले संविाधन उल्लंघन भएको छ’, उनले भने, ‘ओली प्रधानमन्त्री बन्ने बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा सांसदहरू नियुक्ति गर्दा १७ दिनसम्म राष्ट्रपतिले रोकेर राखेर संविधान उल्लंघन गर्नुभएको थियो । ओलीले संविधान उल्लंघन गर्दा प्रचण्ड र मधवजीहरूले हेरेर बस्नुभयो । अहिले ओलीले संसद भङ्ग गरेर सत्ता एकलौटी बनाएपछि प्रचण्ड र माधवजीले बल्ल संसद उल्लंघन भएको देख्नुभयो ।’

संसदमा फरक दलको सभामुख र उप–सभामुख हुनुपर्ने भनेर कांग्रेसले बारम्बार आवाज उठाउँदा प्रचण्ड–माधवलगायतका नेताहरूले टुलुटुलु हेरेर बसेको उनले बताए । ‘कांग्रेसले संविधान उल्लंघन भयो भन्दा ओली–प्रचण्ड–माधवहरू मिलेर बस्नुभयो । ओलीले सत्ता दिन नमानेपछि संविधान उल्लंघन भयो’, डा.महतले भने, ‘स्वार्थ मिल्दासम्म उहाँहरू मिलेर बस्नुभएको थियो । संसद विघठन हुनुमा ओली–प्रचण्ड–माधवजीहरूको उत्तिकै भूमिका छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले संसद भङ्ग गरेर ओलीले संविधान उल्लंघन गरेको बताएका छन् । ‘जनताले पाँच वर्षमा सरकार चलाउन भनेर झण्डै दुईतिहाइ बहुमत कम्युनिस्टलाई दिएका हुन्’, उनले भने, ‘सरकार चलाउन नसकेर कम्युनिस्टले संसद भङ्ग गरेका छन् । सरकार चलाउन असफल भएका छन् ।’

सर्वोच्चले संसद भङ्ग गर्ने निर्णय सदर ग¥यो भने ओलीले चुनाव गर्दैनन् कि भन्ने आशंका पनि रहेको सह–महामन्त्री डा.महतले बताएका छन् । ‘चुनाव समयमा भएन भने ओलीविरुद्ध आन्दोलन गर्ने छौं । त्यस बेला ओलीले सत्ता टिकाउन सक्ने छैनन्’, उनले भने, ‘समयमा चुनाव हुनुपर्छ । पारदर्शी र निष्पक्ष चुनाव हुनुपर्छ ।’

‘संसद पुनःस्थापना भयो भने दुई वर्ष ब्यहोर्नुपर्नेछ । कम्युनिस्ट यस्तै हुन्’, उनले भने, ‘ढिलोचाँढो जाने भनेको चुनावमा हो । चुनावका लागि तयार हौँ ।’

प्रधानमन्त्री ओलीलाई कांग्रेसका सह–महामन्त्री डा.महतले कमेडियनको संज्ञा दिएका छन् । ‘कम्युनिस्टहरू मनोरञ्जन गर्ने कमेडियन हो । कमेडियनहरूबीच प्रतिस्पर्धा गर्ने हो भने कमेडियनहरू आउट हुन्छ । ओलीजीहरूले जित्नु हुन्छ’, उनले भने, ‘मनोरञ्जन चाहिन्छ कि देशमा विकास चाहिन्छ अब जनताले ध्यान दिनुपर्छ ।’

डा.महतले कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार गरेको आरोप पनि लगाएका छन् । ‘नेताहरूको नाममा खोलेको गैरसरकारी संघ संस्थाको नाममा अरबौं बजेट दिएका छन् । उपभोक्ता समितिका नाममा पैसा खर्च गरेका छन्’, उनले भने, ‘पारदर्शीता छैन । बजेट बाँडेर खाएका छन् ।’

ओली सरकारसँग कारोनाविरुद्धको खोप ल्याउने हुती नभएको उनले बताएका छन् । ‘भारतले छिमेकी राष्ट्रहरूलाई आफै कोरोनाविरुद्धको दश लाख डोज खोप दिएको हो’, डा.महतले भने, ‘ओली सरकारले ल्याएको होइन । खोप ल्याउने सक्ने औकात राख्दैन ।’

राष्ट्रियताको नाममा जनतालाई झुक्काएर निर्वाचन जितेको आरोप कम्युनिस्टहरूलाई लगाएका डा.महतले सीमा मिचिएको कुरा चीन र भारतका पराष्ट्रमन्त्रीहरूसँग गर्न नसकेको बताए ।

उप–प्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा स्वास्थ्य सामग्री खरिद गर्दा करोडौँ रुपियाँ भ्रष्टाचार भएको डा.महतले आरोप लगाएका छन् । ‘करोडौंका भ्रष्टाचार भएको छ । कोरोनामा २० अर्ब खर्च भएको भनिएको छ’, उनले भने, ‘२० अर्ब खर्च हुँदा जनताले के पायो ?’

कांग्रेसका सह–महामन्त्री डा.महतले नुवाकोटमा विकास कांग्रेसले गरेको बताए । ‘विकासको पूर्वाधार कांग्रेसले सिर्जना गरेको छ । कांग्रेसलाई निर्वाध रुपमा काम गर्न दिएनन्’, उनले भने, ‘देशमा अस्थिरता ल्याउने कम्युनिस्टहरू हुन् । देशलाई अस्थिरतामा हालेर जनतालाई दुःख दिने भनेका कम्युनिस्टनै हुन् ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, नेविसंघका महामन्त्री दीपक भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

विरोध कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Monday, 2021 February 1, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया