ओलीका उप–प्रधानमन्त्री र मन्त्रीले ढुंगा भेटे, बट्टारमा भक्कुराभक्कुर

बट्टार । नुवाकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै समूहका प्रदर्शनकारी युवाहरूका बीच झडप भएको छ ।

बट्टार बजारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेट अगाडि कालोझण्डासहित नाराबाजीमा उत्रिएका पुष्पकमल दाहाल–माधव नेपाल समूहका युवा विद्यार्थीले प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गरेका थिए । सोही क्रममा ओली र दाहाल–नेपाल समूहका युवाहरूबीच धक्कामुक्का र हानाहान भिडियोमा देखिएको छ । प्रहरी, ओली र दाहाल–नेपाल समूहका युवा विद्यार्थीबीच भक्कुराभक्कुर भएको छ ।

प्रहरीले विरोधमा उत्रिएका युवा विद्यार्थीलाई सडकबाट हटाउन खोजेको छ । त्यस बेला पनि प्रदर्शनकारी र प्रहरीबीच धक्कामुक्का भएको छ ।

एकजना युवकलाई लात्तामुक्काले मर्नेगरी प्रहरीकै अगाडि हानिएको छ । दाहाल–नेपाल समूहका युवा विद्यार्थीले गाडी रोकेरै आक्रमणको प्रयास गरेका थिए । गाडीबाट उत्रिएर केही नेताहरू भागेका थिए ।

दाहाल–नेपाल समूहका युवा विद्यार्थीले उप–प्रधानमन्त्री ईश्वर पोखरेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको गाडीमाथि ढुंगामुढा गरेका छन् ।

बट्टारमा ओली समूहले सोमबार अगुवा कार्यकर्ता भेला राखेको छ । भेलालाई सम्बोधन गर्न पोखरेल र भट्ट आएका छन् ।

दाहाल–नेपाल समूहका युवा विद्यार्थीले उप–प्रधानमन्त्री पोखरेल सवार बा २ झ ३२२८ र उद्योगमन्त्री भट्ट सवार बा २ झ ९१ नम्बरको गाडीमा ढुंगामुढा गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उप–प्रधानमन्त्री पोखरेल चढेको सरकारी गाडीको बायाँ ढोकामा दाहाल–नेपाल समूहका युवा विद्यार्थीको ढुंगा प्रहारबाट सामान्य क्षति पुगेको छ । मन्त्री भट्ट सवार गाडीको सिसा फुटेको छ ।

उद्योगमन्त्री भट्टका स्वकीय सचिव मीनबहादुर सिंह चढको बा १ य २१३७ नम्बरको नेपाल आयल निगमको गाडीको पछाडिको सिसा फुटेको छ ।

दाहाल–नेपाल समूहको अवरोध र आक्रमणका बाबजुद सुरक्षाकर्मीको घेरामार्फत उप–प्रधानमन्त्री पोखरेल, उद्योगमन्त्री भट्ट र प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालसहितका नेताहरू कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

Published : Monday, 2021 February 1, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया