कांग्रेसको आजको आन्दोलन यस कारण कमजोर हुने खतरा

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध देशभरि प्रदर्शन गर्दै छ ।

विरोध प्रदर्शन र ओलीको संसद विघटन गर्ने कदमका विषयमा दुई खेमामा देखिएको कांग्रेसका भ्रातृ संस्थाहरूले सोमबार सदरमुकामहरूमा प्रदर्शन गर्न लागेका छन् । कांग्रेसले संसद भङ्ग गर्ने ओली र नेकपाको सरकारको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक बताउँदै आएको छ ।
१३ वटा भ्रातृ संस्थाहरूको प्रदर्शनमा ओली सरकारविरुद्ध नारावाजी लाग्नेछ ।

सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको फैसलालाई पर्खिनुपर्ने बताउँदै आएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह संसद पुनःस्थापनाको माग गरेर आन्दोलन गर्नुपर्ने पक्षमा छन् ।

कांग्रेसभित्र संसद विघटनको विषयमा देउवा र पौडेल समूहभित्र विवाद भएपछि अबका आन्दोलनहरू कमजोर हुने चर्चा हुन थालेको छ ।

देउवाको बाहुल्यता रहेका जिल्ला र स्थानमा पौडेल–सिटौला समूहले असहयोग गर्ने चर्चा भएको छ । पौडेल–सिटौलाको बर्चश्व रहने ठाउँमा देउवाले असहयोग गर्ने हुन् कि भन्ने आशंका छ ।

दुबै समूह एकअर्काप्रति सशंकित बनेका छन् । कांग्रेसले केन्द्रीय कार्यसमितिबाट आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । केन्द्रको कार्यक्रम भएकाले सशक्त रुपमा गर्नुपर्ने दायित्व नेता कार्यकर्ताहरूलाई छ ।

गत शुक्रबार सिटौला समूहले कांग्रेसभित्रै शक्ति देखाउन रत्नपार्कको शान्तिबाटिकामा विरोध सभा गरेको थियो । विरोध सभालाई कृष्णप्रसाद सिटौला, गगन थापासहितका नेताहरूले सम्बोधन गरेका थिए । सोही सभामा थापाले सभापति देउवाप्रति लक्षित गरेर ‘लड्डु कांग्रेस’ भनेर कडा टिप्पणी गरेका थिए ।

सिटौला समूहले गुटको अलग विरोध सभा गरेपछि कांग्रेसभित्र नेताहरूका बीच फुटको संकेत देखिएको चर्चा भइरहेको छ । कांग्रेस मिलेर जाने बेला आ–आफू अनुकूल हुने गरेर ब्याख्या, अभिव्यक्ति दिने कार्यहरू भएको छ ।

Published : Monday, 2021 February 1, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया