अग्नि सापकोटाका वडाध्यक्षका उम्मेदवारहरू कांग्रेसमा प्रवेश, भोटेकोशीमा नास हुँदै कम्युनिस्टहरू

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले तत्कालीन माओवादीबाट वडाध्यक्षमा उम्मेदवार बनेका दुई जनालाई पार्टीमा स्वागत गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनेका अर्जुन सापकोटा र दावा तेम्बा तामाङसहित एक सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूसँग नेकपाका स्थानीय लोकप्रिय नेता कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

भोटेकोशी गाउँपालिका– ५ मा आइतबार आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा नेता बस्नेतले नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

सिन्धुपाल्चोकको विकासमा कांग्रेसले मात्रै योगदान गरेको बताएका पूर्वमन्त्री बस्नेतले कम्युनिस्टहरूको दिन गएको बताए ।

कांग्रेस नेता बस्नेतले कम्युनिस्टहरू सिन्धुपाल्चोकबाट समाप्त हुने बाटोमा पुगेको भन्दै सुनकोशी गाउँपालिकाबाट कम्युनिस्टहरू नास हुन शुरु भएको बताए ।

अर्जुन सापकोटा भोटेकोशी गाउँपालिका– १ मा स्थानीय निर्वाचनमा तत्कालीन माओवादीबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए ।

दावा तेम्बा तामाङ भोटेकोशी गाउँपालिका–५ मार्मिङबाट माओवादीको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए ।

तत्कालीन माओवादीबाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित अग्निप्रसाद सापकोटा निकट मानिने सापकोटा र तामाङले कम्युनिस्टहरूबाट दिक्क भएर कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

कार्यक्रममा तरुण विभाग केन्द्रीय सदस्य तथा भोटेकोशी गाउँपालिका सभापति पासाङ नोर्बु लामाको विशेष पहल गरेको कार्यक्रममा पूर्वमन्त्री बस्नेतले लामाको निकै प्रशंसा गरेका थिए ।

Published : Sunday, 2021 January 31, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया