सर्वोच्चले संविधान हेरेर फैसला गर्नुपर्छः कांग्रेस नेतृ प्रसाइँ

हरिवन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाइँले नेकपाको दम्भले गर्दा संविधान उल्लंघन गरेर संसद भङ्ग भएको बताएकी छिन् ।

सर्लाही जिल्लाको हरिवनमा शुक्रबार नेपाल महिला संघ क्षेत्र नं. ३ ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ प्रसाइँले केपी ओली र नेकपाले तीन वर्षमा जनताले दिएको दुईतिहाइको जनमतलाई भङ्ग गरेको बताइन् । उनले नेकपा र ओली सरकारलाई जनताले राम्रोसँग बुझेको बताइन् ।

ओली सरकारलाई भ्रष्टाचारीको संज्ञा दिएकी उनले भनेकी छिन्, ‘भ्रष्टाचारी सरकारले भ्रष्टहरूलाई संरक्षण गरेको छ । दोषीलाई कारबाही भएको छैन ।’

ओली र कम्युनिस्टहरूले जनतालाई ढाँटेको नेतृ प्रसाइँले बताएकी छिन् । ‘पाँच वर्ष सरकार चलाउनुस् ओलीजी भनेर कांग्रेसले नै भन्यौँ’, उनले भनेकी छिन्, ‘दम्भले गर्दा संसद भंग भएको छ । कम्युनिस्टले सरकार चलाउन सकेन । जनताको अपमान भयो ।’

उनले भनेकी छिन्, ‘संविधान धुजाधुजा बनाउने अधिकार ओलीलाई छैन । सर्वोच्च अदालतले संविधानभित्र रहेर फैसला गर्नुपर्छ ।’

कांग्रेस नेतृ प्रसाइँले कम्युनिस्टहरूले एकले अर्कालाई भारतीय दलाल, गद्धार, कम्युनिस्ट होइन भन्ने जस्ता आरोप लगाएर गालीगलौजमा उत्रिएको बताएकी छिन् ।

Published : Saturday, 2021 January 30, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया