गगनले देउवा समूहलाई ‘लड्डु कांग्रेस’भनेपछि पार्टीभित्र खैलाबैला, नेताहरूभित्र ठूलो दरार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद भङ्ग भएको विषयलाई असंवैधानिक भन्न ‘लड्डु कांग्रेस’का कारण समस्या भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ६ ले रत्नपार्कस्थित शान्तिबाटिकामा शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद भङ्ग गरेको विषय असंवैधानिक हो भनेर भन्न ‘लड्डु कांग्रेस’ले समस्या भएको बताए । कांग्रेस नेतृत्वविरुद्ध आक्रोश पोखेका थापाले संसद पुनःस्थापनाको माग गरे ।

‘प्रधानमन्त्रीको कदम असंवैधानिक भन्न पाउने अधिकारलाई हाम्रा केही साथीहरूले अलमलाउनुभएको छ’, उनले भने, ‘त्यो लड्डु कांग्रेसहरू मैदानमा आउनुभएको छ । यो हातमा पनि लड्डु, त्यो हातमा पनि लड्डु ।’

उनले भने, ‘लड्डु कांग्रेसहरूले गर्दा आज कांग्रेसमाथिनै प्रश्न उठेको छ । यो प्रश्नलाई पनि भोलि उठ्न नसक्ने गरि हामी अगाडि बढ्नुपर्छ ।’

आफ्नो अभिव्यक्तिका क्रममा कांग्रेस नेता थापाले सभापति शेरबहादुर देउवाको नाम नलिएर ‘लड्डु कांग्रेस’ भनेर अपमानित गरेका थिए ।

संसद विघटनको विषय अदालतमा विचाराधीन रहेको भन्दै सभापति देउवाले अदालतको फैसलालाई कांग्रेसले मान्ने भन्दै आएका छन् । देउवाले संसद पुनःस्थापना भए पनि वा निर्वाचनमा जान भनेपनि स्वीकार्य हुने बताउँदै आएका छन् । शान्तिबाटिकाको सम्बोधनमा थापाले देउवालाई ‘लड्डु कांग्रेस’भन्दै संसद पुनःस्थापनाको माग गरेका थिए ।

‘एउटा चुनावको हिसाब किताब गरेर बस्ने हामी ? चुनाव जित्ने कुरा एउटा राजनीतिक दलले सोँच्छ । सोँच्नु हुँदैन भन्ने होइन । तर, के एउटा चुनाव जित्ने वा हार्नका लागि निम्ति नेपाली कांग्रेस पार्टी बनेको हो ?’, प्रश्न गर्दै थापाले भने, ‘आज खेल मैदानमा जाँदै गर्दा अर्को पट्टिको मैदानमा जाँदै गर्दा खेलाडीहरू आफै एकअर्कालाई हान्दै छन् ।’

‘आफै एकअर्कालाई हान्दै गर्दा, आफै एकअर्का लडेका छन् । ढलेका छन्’, कांग्रेस नेता थापाले भने, ‘गोल हान्न सजिलो हुन्छ भन्ने तपाईलाई पनि लागेको छ । मलाई पनि लागेको छ । तर, गोल हान्न सजिलो हुन्छ भन्ने लाग्दै गर्दा यति त ध्यान पु¥याऔँ खेल मैदान रह्यो भने न गोल हानौंला !’

‘खेल मैदाननै रहने भने गोल कहाँ हान्ने हो ? खेल मैदान राख्ने पद्धतिका निम्ति लडेर आएको कांग्रेस होइन यो ? आजको दिन नेपाली कांग्रेसको प्रत्येक साथीले आफैलाई प्रश्न गर्नुपर्छ कोही अलमलमा छ भने । तपाई निर्वाचनको पक्षमा कि संसद पुनःस्थापनाको पक्षमा ? तपाई संसद पुनःस्थापनाको पक्षमा हो कि होइन ? प्रश्न यो हो । तपाई संविधानको पक्षमा हो भने जनताको पक्षमा हो कि होइन ? तपाई आज न्यायको पक्षमा हो कि अन्यायको पक्षमा हो ? संविधानको पक्षमा हो कि संविघन विघठन गर्ने पक्षको पक्षमा हो ? प्रश्न यो हो’, थापाले भनेका छन् ।

‘कांग्रेसले स्पष्ट निर्णय गरेको छ । कतिपय साथीहरू अलमलिनुभएको छ’, उनले भने, ‘पार्टीको जुनसुकै तहको नेता होस् । पार्टीको निर्णयले बाँधिएको छ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गर्नुभएको काम असंवैधानिक हो ।’

‘असंवैधानिक केपी ओलीको कदम मुर्दावाद । पार्टीको नारा यही हो । प्रश्न कांग्रेसलाई मात्रै होइन’, उनले भने, ‘प्रश्न अदालतलाई पनि आउँछ । केही साथीहरू के भन्नु हुन्छ भने अदालतको बारेमा बोल्नु हुँदैन । रामशाहपथ देखेर परपर भागेर अदालतको बारेमा बोल्दैनौँ भन्छौँ भने ती कायरहरूमात्रै हुन सक्छन् ।’

कांग्रेस नेता थापाले भने, ‘अदालतको बारेमा कांग्रेसले बोल्दैन भन्ने भ्रम नराखौँ । अदालतमा रहेको विषयमा कांग्रेसले बोलिसक्यो । कांग्रेसले बोलेर भनिसक्यो । पुस ५ गतेको कदम असंवैधानिक हो ।’

‘अब अदालतले योभन्दा दायाँबायाँ फैसला गर्दैन भन्ने हाम्रो विश्वास छ’, कांग्रेस नेता थापाले भने, ‘अदालतले गर्न हुँदैन भन्ने मान्यता हो ।’

Published : Friday, 2021 January 29, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया