वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको भविष्यवाणीले बालुवाटारमा भूकम्पको धक्का

काठमाडौं । नेपाल वार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले गृहमन्त्री रामबहादुर थापाले वैशाखमा निर्वाचन हुँदैन भनेर दिएको अभिव्यक्तिले देशमा ठूलो संकट आउने देखिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता केसीले वैशाखमा चुनाव हुन नसके समस्या आउने बताए । उनले भने, ‘गृह मन्त्रीले नै वैशाखमा निर्वाचन हुँदैन भनेको मैले समाचारमा सुनेको छु । यदि त्यस्तो हो भने मुलुकमा झन् समस्या आउनेछ ।’

वैशाखमा चुनाव हुन सकेन भने देशमा अराजकता निम्तिने वरिष्ठ अधिवक्ता केसीको चेतावनी छ । उनले सर्वोच्च अदालतले संवैधानिक व्यवस्थानुसार संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय खारेज गरिदिने दाबी गरेका छन् । प्रधानमन्त्रीले अधिकारनै नभएको व्यवस्था प्रयोग गरेर संसद भङ्ग गरेको उनको भनाइ छ ।

‘केपी ओलीजीले गैरसंवैधानिक काम गर्नुभएको छ । अदालतले ओलीजीको कदम खारेज गरिदिनेछ’, उनले भने, ‘संसद आउनेछ । संसद आयो भने पनि ओलीनै प्रधानमन्त्री हुनुहुन्छ । पछि संसदले कसलाई प्रधानमन्त्री बनाउँछ त्यो पछिको कुरा हो ।’

बारका पूर्वअध्यक्ष केसीले संसदको गरिमा राख्नुपर्ने बताएका छन् । उनले मनमोहन अधिकारीको पालामा विघटन भएको संसद फर्किएको समेत उल्लेख गरेका छन् ।

‘विघटन भएको संसद मनमोहन अधिकारीको पालामा फर्कियो’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको धन्यावादको प्रस्ताव फेल भएको थियो । संसदीय दलबाट निर्णय गराएर संसद विघटन गर्नुभएको थियो । त्यस बेला संसद भङ्ग गर्ने अधिकार थियो । कांग्रेसले संसद भङ्ग गरेको परिणती भोग्यो ।’

संसद विघटनका विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेका बेला बारका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता केसीले न्यायालयले संसद फर्काइदिने दाबी गरेका छन् ।

Published : Friday, 2021 January 29, 10:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया