कम्युनिस्टहरूद्वारा मान्छे मार्न सरकारी मोटरसाइकल प्रयोग, धनगढीमा तरुणको प्रदर्शन

धनगढी । नेपाल तरुण दल बझाङका नेता अमृतबहादुर सिंह ‘लखन’को हत्या भएको विरोधमा कैलाली तरुण दलले प्रदर्शन गरेको छ ।

बझाङको छविसपाथिभरा गाउँपालिकाका तरुण नेता सिंहलाई नेकपाका नेता कार्यकर्ताहरूले मंगलबार खुँडा प्रहार गरेर हत्या गरेका थिए ।

सिंहको हत्याको विरोधमा तरुण कैलालीले बुधबार धनगढीमा प्रदर्शन गरेको हो । चौराहाबाट शुरु भएको तरुण दलको बिरोध ¥याली सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय अगाडि पुगेर बिरोध सभामा परिणत भएको छ । विरोध ¥यालीमा सहभागीहरूले तरुण नेता सिंहको हत्या भएको विरोध गर्दै नेकपाका दोषी नेता कार्यकर्ताहरूलाई कारबाहीको माग गरेका छन् । उनीहरूले सत्ताको आडमा दोषीलाई उम्काउने कार्य भयो भने तरुणहरूले देशभरि प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

उता, तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न गरी आ–आफ्नो घर जाने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आतंककारी मनोवृत्ति भएका ज्ञानबहादुर कडायत, प्रकाश ऐडी लगायतका अपराधिक जत्थाले सत्ता र शक्तिको आडमा सिंहको हत्या गरेको भन्दै भर्त्सना गरेका छन् ।

अध्यक्ष बस्नेतले विज्ञप्ति जारी गरेर सोही गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाईकल प्रयोग गरी नेपाल तरुण दल छबिसपाथिभरा गाउँपालिका सदस्य सिंहको माघ १३ गते हत्या गरेको जनाएका छन् ।

‘लोकतन्त्रमा प्रतिबद्ध एक होनाहर तरुण अमृत सिंहलाई माघ १३ गते साँझ स्थानीय बजारको बीच सडकमै खुँडा प्रयोग गरी निर्ममतापूर्वक हत्या गरिएको घटनाको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा एवं भर्त्सना गर्दछ’, बस्नेतले भनेका छन् ।

‘जनताको शान्तिपूर्ण रुपले बाँच्न पाउने संवैधानिक अधिकारमाथि धावा बोल्दै यस हत्या काण्डमा संलग्न अपराधीहरूलाई छिटोभन्दा छिटो कानूनको कठघरामा ल्याई हदैसम्मको कानूनी कारबाही गर्न र जनताको जिउँधनको सुरक्षा गरी शान्ति, अमन, चयन कायम गर्न नेपाल सरकार र यसको सम्बन्धित निकायलाई नेपाल तरुण दल केन्द्रीय समिति जोड्दार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘घटनामा संलग्न सम्पूर्ण अपराधीहरूलाई कानूनी कठघरामा ल्याई हदैसम्मको कारबाही नगरेसम्म नेपाल तरुण दल केन्द्रीय समिति दलको बझाङ जिल्ला समितिलाई कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन निर्देशन गर्दै दलले गर्ने आन्दोलनबाट सिर्जना हुने कुनै पनि परिस्थितिको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी समेत दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2021 January 28, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया