नेकपा मिलाउन चिनियाँ राजदूतको गोप्य हर्कत, प्रचण्डसँग एक घण्टा भेट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि सबैभन्दा धेरै तनाबमा परेका चीनले नेपालस्थित राजदूत होउ यान्छी र चिनियाँ सम्पर्क सूत्रहरूलाई निरन्तर सक्रिय बनाएको छ ।

नेपालका चिनियाँ राजदूत यान्छीले बुधबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छिन् । दाहालसँग भेट गर्न राजदूत यान्छी बिहान साढे ९ बजे खुमलटार पुगेकी थिइन् ।

नेकपाका दोस्रो र पहिलो वरीयताका नेताहरूलाई गोप्य रुपमा भेटेर नेकपा मिलाउन हर्कत गर्दै आएकी यान्छीले दाहाललाई भेट गरेकी छिन् ।

अध्यक्ष दाहाल र राजदूत यान्छीबीच ०९ः३५ देखि १०ः३० बजेसम्म भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले दाबी गरेको छ ।

भेटमा राजदूत यान्छीले नेकपालाई मिलाएर लैजान दाहाललाई दवाव दिएकी छिन् । उनले प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिन दाहाललाई दवाव दिएकी छिन् ।

स्रोतका अनुसार राजदूत यान्छीले सकेसम्म दुबै नेकपालाई मिलाउन सुझाव दिएकी छिन् । पार्टीनै मिल्ने अवस्था नभएमा ओलीलाई साथ दिएर संसद पुनःस्थापना गर्न दवाव दिएको स्रोतको भनाइ छ ।

दाहालसँगको भेटमा राजदूत यान्छीले निर्वाचन आयोगले पनि नेकपा मिलोस् भनेर मध्यमार्गी निर्णय गरेको भन्दै कम्युनिस्टहरूभित्रको एकतालाई मिलाएर जाने सुनौलो मौका रहेको सुझाव दिएकी छिन् ।

नेकपा विभाजन भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय टोली पठाएर नेकपाका उच्च नेताहरूसँग भेट गरि नेकपा मिलाउन दवाव दिएका थिए ।

नेकपाका नेता बामदेव गौतमले बुधबार ललितपुरमा नेकपालाई मिलाउनका लागि दवाव समूह घोषणा गर्दै छन् । चीनकै दवाव र ईशारामा गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको आरोप छ ।

नेपाली कांग्रेसभित्र नेकपा विभाजन र संसद विघटनका विषयमा एकमत हुन नसकेको बेला चीनले दुबै नेकपालाई मिलाउन ठूलो प्रयास गरिरहेको छ । कांग्रेसका सभापति देउवा निर्वाचनको पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाको पक्षमा छन् ।

संसद पुनःस्थापना गराएर चीनले नेकपालाई मिलाउन खोजिरहेको छ । चीनको अभियानलाई कांग्रेसका वरिष्ठ नेता पौडेलले साथ दिएको भनेर आरोप लागेको छ ।

Published : Wednesday, 2021 January 27, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया