ओली र कम्युनिस्ट सरकारलाई घुँडा टेकाउन कांग्रेसद्वारा सशक्त आन्दोलन घोषणा

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक गतिविधिविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आन्दोलनका तीन वटा कार्यक्रम तय गरिएको जानकारी दिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले देशव्यापी रूपमा भएका शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको बताएका छन् । उनले विरोध प्रदर्शन र विरोध सभाका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

कांग्रेसले माघ १९ गते सोमबार भ्रातृ संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने निर्णय गरेको शर्माले बताए ।

उनले माघ २४ गते शनिबार शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लाहरूमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने निर्णय भएको बताए ।

फागुन ३ गते सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताएका छन् ।

केन्द्रबाट तोकिएका कार्यक्रम बाहेक जिल्ला कार्यसमिति लगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले विरोधका कार्यक्रम तय गरी संचालन गर्ने शर्माले बताएका छन् ।

कांग्रेसले काठमाडौं उपत्यकामा नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेर दमन गरेको भन्दै विरोध गरेको छ ।

कांग्रेसले प्रधानमन्त्री केपी ओलीले मर्यादा नहुसाउँदो कुरा गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

Published : Tuesday, 2021 January 26, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया