कांग्रेस नेता पाण्डेले बाबुरामको जिल्लामा प्रचण्ड र कम्युनिस्टहरूलाई नाङ्गेझार बनाए

बारपाक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीभित्रको बेमेलले संसद भङ्ग भएको बताएका छन् ।

गोराखा जिल्लाको बारपाक सुलिकोट– ८ पन्द्रुङमा मंगलबार कांग्रेसले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले जनताले पाँच वर्षको जनमत पाउँदा पनि कम्युनिस्टहरूले सरकार चलाउन नसकेको बताए । सरकारले प्रतिपक्षको रुपमा सकारात्मक भूमिका खेल्दा पनि कम्युनिस्टहरूले संविधान नियन्त्रण गर्ने खालका कानून बनाउन विधेयकहरू ल्याएको बताए ।

‘जनताले विश्वास गरेर कम्युनिस्टलाई झण्डै दुईतिहाइको बहुमत दिनुभयो । कांग्रेसले काम गर्न दियो’, उनले भने, ‘सरकारको ज्यादतिको विरोध गरेका छौँ । सरकारले संविधान नियन्त्र गर्ने कानून बनायो ।’

‘पार्टीभित्रको बेमेलले गर्दा संसद विघटन भयो’, उनले भने, ‘कम्युनिस्टलाई पाँच वर्ष सरकार चलाउन दुईतिहाइको बहुमत दिएकोमा कम्युनिस्टले जनतामाथि विश्वासघात गरेको छ ।’
कांग्रेस नेता पाण्डेले दुईतिहाइको बहुमत पाउँदा पनि सरकार चलाउन नसकेर कम्युनिस्टहरू असफल भएको बताए ।

‘कम्युनिस्टले तीन वर्षमा संसद भङ्ग गरेका छन्’, उनले भने, ‘जनताले गरेको विश्वासमाथि कम्युनिस्टले कुठाराघात गरेका छन् ।’

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको पूर्व नेता समेत रहेका पाण्डेले भने, ‘कांग्रेस सत्ताबाट बाहिर हुँदा मुलुकमा परिवर्तन हुन सकेको छैन । विकास हुन सकेको छैन ।’

विगतमा माओवादीले गरिव जनताका छोराछोरीलाई बन्दुक बोकाएर दुःख दिएको भन्दै नेता पाण्डेले भने, ‘माओवादीको सत्ता आयो । गरिव जनताले केही पाएका छैनन् । कम्युनिस्टको सत्ता आयो । १३ वर्षमा १० वर्ष कम्युनिस्टहरूले सत्ता चलाए । जमीन, घर, रोजगारी दियो ? दिएनन् ।’

‘गरिवका छोराछोरीलाई बन्दुक बोक्न लगाइयो । गरिव जनताले केही पाएनन् । गोरखामा पहिलो शहीद भनेर प्रचण्डले दिलबहादुर रम्तेललाई भन्ने गर्नुहुन्छ । शहीद र शहीदका परिवारलाई केही भएको छैन’, उनले भने, ‘प्रचण्डकी छोरी मेयर, बुहारी मन्त्री, ज्वाइँहरूलाई विभिन्न नियुक्तिहरू दिइएको छ । माओवादीका नेताहरूको काठमाडौंमा महल छ । आर्थिक रुपमा सम्पन्न भएका छन् । माओवादीका नेताहरू महल बनाएर बसेका छन् । करोडौँको घर बनाएका छन् ।’

कांग्रेस नेता पाण्डेले कम्युनिस्टले जनतालाई मीठा नाराको सपना देखाएर झुक्काएर निर्वाचन जितेको बताए ।

कांग्रेस नेता पाण्डेले भने, ‘प्रचण्डले सत्ताका लागि माओवादी पार्टी विर्सजन गर्नुभएको छ । गौरवशाली भन्ने माओवादी पार्टी बिलय भएको छ । सत्ता र कुर्सीको लागि माओवादी बिघटन गर्नुभएको छ । बन्दुक बोकाउँदा देखाएको सपना पूरा भएको छैन । प्रचण्डले धोका दिनुभएको छ ।’

उनले कांग्रेसले जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृतवमा सुशील कोइराला प्रधानमन्त्री भएका बेला संविधान आएको बताए । उनले कांग्रेस हारे पनि कांग्रेसले बिचारमा जितेको बताए ।

माओवादी र कम्युनिस्टबाट दिक्क भएर शुक्रबहादुर सार्कीसहितका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको भन्दै कांग्रेस नेता पाण्डेले कम्युनिस्टबाट विरक्तिएर पाँच सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेको बताए ।

‘कम्युनिस्टले झुक्काएका छन् । तीन वर्षसम्म केही गरेनन् । अब कांग्रेसलाई जिताउनुपर्छ’, उनले भने, ‘कम्युनिस्टले संविधान सभामा बहुमत हुँदा पनि संविधान बन्न सकेन । ७० सालमा कांग्रेसको नेतृत्वमा संविधान बनायौं ।’

नेता पाण्डेले कांग्रेसले जनताको शिर ठाडो बनाएर कुरा गर्न सक्ने गरेरै काम गरिरहेको बताए । उनले कम्युनिस्टले जस्तो लाज लाग्ने काम नगरेको बताए ।

१७ हजार मान्छेको ज्यान मारेर आएकाहरू जनताको बीचमा शिर ठाडो पारेर हिँडेको भन्दै कांग्रेस नेता पाण्डेले कम्युनिस्टहरूको आलोचना गरेका छन् । उनले कांग्रेसका कारण देशमा लोकतान्त्रिक अधिकार आएको भन्दै लोकतनत्रमा आस्था राख्ने पार्टीलाई कहिल्यै जनताले माया नपर्ने बताए ।

संसद विघटन भएपछि केपी ओली र प्रचण्डबीच आरोप–प्रत्यारोप भइरहेको भन्दै उनले कम्युनिस्टहरू अहिले आफै एकअर्कालाई पोल्ने काम गरिरहेको बताए ।

पूर्वमाओवादी डा.बाबुराम भट्टराईको गृहजिल्ला समेत रहेको गोरखामा कम्युनिस्ट छाडेर नेकपाका नेता कार्यकर्ताहरू धमाधम कांग्रेसमा प्रवेश गर्दै आएका छन् । कथित जनयुद्ध लडेका बाबुरामले माओवादी छाडेपछि कम्युनिस्टहरूका नेता र कम्युनिस्ट पार्टी के हुन् भन्ने स्पष्ट भएको कांग्रेस नेताहरूले बताएका छन् ।

Published : Tuesday, 2021 January 26, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया