कथित वृहत् नागरिक आन्दोलनमा एनजिओ–आईएनजिओको घुसपैठ, प्रचण्डका मान्छेहरू धेरै

काठमाडौं । कथित ‘वृहत् नागरिक आन्दोलन’का नाममा काठमाडौंमा शुरु भएको प्रदर्शनमा एनजिओ, आईएनजिओ र प्रचण्ड–माधव समूहको घुस पैठ भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको भन्दै सबैले आलोचना गरेका छन् । संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यस्तो अवस्थामा अदालतलाई समेत प्रभावमा पार्ने गरेर कथित वृहत नागरिक आन्दोलनका नाममा एनजिओ र आईएनजिओमा संलग्नहरूले सडकमा उत्पात मच्चाएको आरोप छ ।

एनजिओ र आईएनजिओको उक्साहटमा कथित नागरिक आन्दोलनले सडकमा उत्रिएर प्रदर्शन गरेको टिकाटिप्पणी भएको छ । वृहत नागरिक आन्दोलनका नाममा सडकमा देखिएका अनुहारहरू एनजिओ र आईएनजिओ तथा जातीय आन्दोलनमा सहभागी भएर देशमा उथलपुथल ल्याउनेहरू समेत रहेका छन् ।

नागरिक समाजको आन्दोलनमा प्रचण्ड–माधव समूहका स्थायी समितिका सदस्य रघुजी पन्त स्वयम् उपस्थित भएर प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रचण्ड समर्थक रहेको आरोप खेप्दै आएका युग पाठकद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा रहेका अधिकांश व्यक्तिको नामहरू एनजिओ र आईएनजिओसँग जोडिएकाहरू रहेका छन् ।

घाइते भनेर दिइएका नामहरूमा संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्रध्यापक रमेश भट्टराई, निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनिल श्रेष्ठ, गोविन्द भण्डारीलगायतका व्यक्तिहरू रहेका छन् ।

आन्दोलनमा सहभागी हुनेहरूमा डा.गोविन्द केसी, खगेन्द्र संग्रौला, मोहना अन्सारी, नारायण वाग्ले, प्रवीण कोयू, प्रदीप देवानलगायत रहेका छन् ।

एनजिओ र आईएनजिओमा आवद्ध कथित वृहत नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । पश्चिमा राष्ट्रहरू र जातीय आन्दोलनलाई बढावा दिएर विगतमा उथलपुथल ल्याएकाहरूबाट प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्ने कार्यमाथि विभिन्न खालका आशंकाहरू उब्जाइदिएको छ ।

कथित नागरिक आन्दोलनको बहानामा भएको सोमबारको सडक प्रदर्शनमा प्रदर्शनकारीभन्दा धेरै सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 January 25, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया