राष्ट्रपति–मुख्यमन्त्रीको जिल्लामा कांग्रेस नेताहरूद्वारा ओली र कम्युनिस्टको भण्डाफोर

भोजपुर । नेपाली कांग्रेस भोजपुरका नेताहरूले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गर्दै पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउने घोषणा गरेका छन् ।

ट्याम्केमैयुङ गाउँपालिका– ३, अन्नपूर्णमा सोमबार आयोजित कार्यक्रममा धारणा राख्ने नेताहरूले कांग्रेसलाई अहिले पनि जनताले साथ दिएको बताए ।

उनीहरूले जनताको भावनामा कम्युनिस्टहरूले खेलवाड गरेको भन्दै कांग्रेसलाई बिकल्पको रुपमा अगाडि ल्याउने बताए ।

नेताहरूले कम्युनिस्टहरूको अधिनायकवाद र भ्रष्टाचारका विरुद्ध जनतालाई गाउँ–गाउँमा पुगेर जागरुक बनाउनुपर्ने बताएको कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

कार्यक्रममा भोजपुर कांग्रेसका सभापति नन्दमणि राई, पूर्वसभापति बालकृष्ण थापा, नेता उमेशजंग रायमाझी, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, भोजपुर नगरपालिकाका मेयर कैलाश आले, नेताहरू विनोद वान्तवा, हेमन्त मुकारुङ, शिशिरा राई, सफल किराती, नेपाल तरुण दल भोजपुरका अध्यक्ष सरोज बस्नेतलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

भोजपुर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला पर्छ । कम्युनिस्टहरूले भोजपुरको विकासमा योगदान गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

यसैबीच, कार्यक्रममा नेकपासहित विभिन्न राजनीतिक दल परित्याग गरेर आठ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी सभापति नन्दमणि राईसहितका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।

Published : Monday, 2021 January 25, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया