नेकपामा तेस्रो समूह जन्मियो, पार्टी फुटाएका ओली–प्रचण्ड–माधवहरूनै चकित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि कतैतिर नलागेका वामदेव गौतमले ५ सय एक सदस्यीय कार्यसमिति घोषणा गर्ने भएका छन् ।

गौतमले माघ १४ गते बुधबार बिहान ११ बजे ललितपुरको धोबीघाटस्थित एक होटेलमा कार्यक्रम गरेर ‘पार्टी एकता राष्ट्रिय अभियान’ कार्यसमिति घोषणा गर्न लागेका हुन् ।

अभियानमा गौतम संयोजक रहनेछन् । यो कार्यसमितिले दुबै पार्टीलाई मिलाउन अभियान चलाउने एक नेताले बताएका छन् ।

अभियानका संयोजक गौतमले दुवै समूहका शीर्ष नेताहरूलाई भेटेर आपसी मनमुटाव छाडेर पार्टी एकीकरणका लागि आग्रह गर्ने जनाइएको छ । गौतमले आफ्नो अभियानमा सरिक हुन अनुरोध पनि गरेका छन् ।

आलोचकहरूले नेकपा विभाजन भएपछि गौतमले तेस्रो समूह बनाएर पदका लागि बार्गेनिङ गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पार्टी विभाजन गरेर सडक आन्दोलन गर्दै आएका छन् ।

प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा पुनःस्थापनाका माग गर्दै आएका छन् । उनीहरूले संसद पुनःस्थापनाको माग गरेर आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–माधव समूह आक्रामक देखिएको छ ।

उता, प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नहुने बताउँदै आएका छन् । ओलीले निर्वाचनबाट आफूले दुईतिहाइ बहुमत पाउने दाबी गर्दै आएका छन् । ओलीले प्रचण्ड–माधव समूहलाई प्रतिनिधि सभामा दुई अंकमा जितेर देखाउन चुनौति दिएका छन् ।

संसद विघटनको विवाद सर्वोच्च अदालतमा पुगेको छ । अदालतले के निर्णय दिन्छ त्यो पछिको कुरा भयो । तर, ओली र प्रचण्ड–माधव समूहले उत्पात मच्चाएको आरोप छ ।

यही मौकामा गौतमले आफूलाई नेता बनाउन खोजेका छन् । उनको अभियानमा को–को सहभागी हुन्छन् केही भनिएको छैन ।

Published : Sunday, 2021 January 24, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया