पर्वतमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कार्यकर्ताले छाडे, कांग्रेसमा स्वागत

जलजला । पर्वत जिल्लामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार जलजला गाउँपालिका–८ नाग्लिवाङमा आयोजित कांग्रेसको कार्यक्रममा नेकपाका एक सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नाग्लिवाङका एक सय १५ जना स्थानीय नेता कार्यकर्ता नेकपा छोडेर कांग्रेसमा प्रवेश गरेको जलजला गाउँपालिकाका अध्यक्ष एवम् पर्वत कांग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले जानकारी दिएका छन् ।

कम्युनिस्ट सरकारले जनताका लागि भन्दा पनि नातेदारहरूलाई मात्रै सुविधा दिएको भन्दै नवप्रवेशीहरूले नेकपामा बस्न उपयुक्त नभएपछि कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नेपाली कांग्रेस वडा कार्यसमिति जलजलाले आयोजना गरेको कार्यक्रममा नयाँ प्रवेशीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, युवा नेता मल्लसहितका नेताहरूले स्वागत गरेका थिए ।

केन्द्रीय सदस्य जोशीले कम्युनिष्टहरू गफ मात्रै गर्न जानेको भन्दै जनतालाई झुक्काउन माहिर रहेको बताए । ‘कम्युनिस्टले गफममात्रै र्छन, जनतालाई ढाँट्छन् भन्ने कुरा अहिले पुष्टि भएको छ’, उनले भने, ‘यो देशमा आशा र भरोसाका साथै मुलुकको विकास र समृद्धि दिने पार्टी कांग्रेस नै हो ।’

नेता जोशीले कांग्रेसले इतिहासदेखि अहिलेसम्म जनता र मुलुकको लागि गरेको कामले नै अहिले कांग्रेसमा प्रवेशको लहर आएको बताए ।

नाग्लीवाङका जनता नेकपाको बधुँवा पशु बन्न नसकेर कांग्रेसमा प्रवेश गरेको भन्दै कांग्रेस नेता जोशीले अरु गाउँका कार्यकर्ताहरूलाई पनि प्रवेश हुन अनुरोध गरेका छन् ।

नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले कम्युनिस्टविरुद्ध जनता गाउँबाट आफै जागरुक भएर आउन थालेको बताए । उनले कम्युनिस्टहरू भ्रष्टाचार, अनियमितता र असंवैधानिक गतिविधिहरूमा संलग्न भएपछि कांग्रेसप्रति आकर्षण बढ्न थालेको बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष एवम् युवा नेता मल्लले कम्युनिस्टहरूबाट देश र जनताले केही पाउन नसकेको बताए । गाउँको विकास कांग्रेसले गर्ने भन्दै युवा नेता मल्लले कम्युनिस्टलाई गाउँबाट जनताले बहिस्कार गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका नेताहरू लालकाजी गुरुङ, नवराज गुरुङ, ऋषिकेश तिवारी, दुर्गाबहादुर खत्री, विश्व प्रसाइँ, गंगाधर तिवारी, राधाकुमारी कुँवर क्षेत्री, सीता काफ्ले लामिछाने, रेखा गुरुङ, जगन्नाथ आचार्य, शिव शर्मा अधिकारी, विप्लव हमाल, सरस्वती शर्मालगायतले धारणा राखेका थिए ।

कार्यक्रममा लोक गायक विमलराज क्षेत्रीले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस वडा कार्यसमिति जलजला गाउँपालिका–८ नाग्लिवाङका सभापति रामप्रसाद क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तत्कालीन एमालेबाट राष्ट्रिय सभाको सांसद पदमा निर्वाचित गणेश तिमिल्सिनासहितका कम्युनिस्ट नेताहरू व्यक्तिगत लाभमा लागेर जिल्लाको विकासमा ध्यान नदिएको आरोप लागेका बेला नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । तिमिल्सिना राष्ट्रिय सभाको अध्यक्ष समेत छन् ।

Published : Sunday, 2021 January 24, 8:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया