गृहमन्त्रीको जिल्लामा शान्ति सुरक्षा फितलो, श्रेष्ठको हत्या

भरतपुर । चितवन जिल्लामा शान्ति सुरक्षामा खेलावड भएको भन्दै स्थानीयले आलोचना गर्न थालेका छन् ।

कर उठाउने विषयमा प्रहरी सहायक निरीक्षक जल्ने गरेर भएको घटना र सो घटनामा संलग्नलाई बचाउन खोज्ने चितवन प्रहरीको काण्ड सेलाउन नपाउँदै पूर्वी चितवनमा चोरको आक्रमणाबट एक जनाको हत्या भएको छ ।

चितवनको प्रहरी प्रमुखमा एसपी सुशील राठौर रहेका छन् । राठोरको कमाण्डिङमा पछिल्ला घटनाहरूले प्रश्नमाथि प्रश्न उठाइदिएको छ ।

कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा चोरको आक्रमणबाट ४७ वर्षीय कुमारसिंह श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठलाई शनिबार राति चोरले आक्रमण गरेर हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

आइतबार बिहान ६ बजेसम्म बुबा नउठेपछि ढोका खोल्न जाँदा बुबा मृत अवस्थामा भेटिएको मृतकका छोरा सुमन श्रेष्ठले बताए ।

बेलुका ८ः३० बजेसम्म बुबासंग कुरा भएको र बेलुका खानाखान ढिलो हुने बताएपछि आफूहरूले खानाखाई घरको माथिल्लो तलामा सुतेको उनले बताए ।

‘बुबा सधै भुइँतलामा सुत्नुहुन्थ्यो’, उनले भने, ‘बेलुका ८ बजेतिर बुबा घरबाट बाहिर निस्कनु भएको थियो । आउन ढिला हुने भनेपछि घरका सबै ढोकाहरू बन्द गरी अगाडिको ढोका मात्र लक नगरी छाडेका थियौँ ।’

५ तोलाको सिक्री र ३ तोलाको औँठी चोरी भएको उनले बताए । ‘अरु के–के सामानहरू चोरी भए अहिले भन्न सकिने अवस्था छैन’, उनले भने ।

‘बिहान उठ्दा घरको अगाडिको ढोका लक भएको पाइएको र पछाडिको ढोका भने खुल्लै रहेको थियो’, उनले भने ।

घटनास्थल मृतक श्रेष्ठ सुतेको कोठामा ईटाहरू देखिएको छ । उनले प्रयोग गर्ने मोबाइल भने भुइँमा नै देखिएको छ ।

खाटको झुलको अवस्था पनि सामान्य नै छ । घटना हेर्दा सुनियोजित भएकोले निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।

घटनाको सम्बन्धमा बिहान थाहा भएपछि प्रहरी सो स्थानमा पुगेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले बताए ।

चितवन गृहमन्त्री रामबहादुर थापाको गृहजिल्ला पर्छ । सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चितवनबाटै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।

Published : Sunday, 2019 May 26, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया