कम्युनिस्ट सरकारको उपहार तरकारीको मूल्य वृद्धि, गोलभेंडा पाँच वर्ष यताकै महँगो

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले मूल्यवृद्धि नियन्त्रणमा रहेको भनेर दाबी गरिरहेका बेला गोलभेंडासहित तरकारीहरूको भाउ ह्वात्तै वृद्धि भएको छ ।

गोलभेंडाको भाउ प्रतिकिलो एक सय ६० रुपियाँसम्म पुगेको छ । गोलभेंडाको यो भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च हो ।

त्यति मात्रै होइन हरियो तरकारीको भाउपनि ह्वात्तै बढेको छ । तरकारी न्यूनतम पाचास रुपियाँभन्दा कम दररेटमा पाइँदैन । बजेट आउँदै गर्दा तरकारीमा भएको मूल्य वृद्धिले उपभोक्ताहरूलाई झन् तनाब बढाइदिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोलभेंडाको मूल्यका विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो देखाएको छ । जनवरीदेखि अप्रिलसम्म गोलभेंडा आयात पनि बढेको छ ।

अध्ययनमा ५ वर्षको अवधिमा गोलभेंडाको मूल्य हाल सबैभन्दामाथि पुगेको निष्कर्ष छ । विभागले सरकारी स्वामित्वको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समिति र भन्सार विभागको प्रतिवेदनका आधारमा अध्ययन गरी प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा गोलभेंडाको मूल्य वृद्धि भएको उल्लख भएपनि कारण खुलाइएको छैन । गोलभेंडाको मूल्य वृद्धि हुँदा उपभोक्ताहरू तनावमा परेका छन् ।

असोजदेखि मंसिर १४ सम्ममा गोलभेंडाको मूल्य एक सय रुपियाँभन्दा माथि पुगेको औंल्याएको छ । ५ वर्षमा चैतदेखि जेठ १ सम्ममा गोलभेंडाको मूल्य प्रतिकिलो ४० देखि ८० को बीचमा रहेपनि यो वर्षको जेठ पहिलो सातादेखि नै मूल्य उच्च विन्दुमा पुगेको अध्ययनमा खटिएकाहरूले बताएका छन् ।

मागअनुसार आन्तरिक र बाह्य क्षेत्रबाट आपूर्ति नहुँदा गोलभेंडा भाउ वृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।

सरकार, किसान, व्यवसायी र कृषि वैज्ञानिकले पछिल्लो समयमा भारतबाट थोरै परिमाणमा गोलभेंडा आयात हुँदा माग र आपूर्तिबीच तालमेल नमिल्दा मूल्य अत्यधिक वृद्धि भएको बताइरहँदा विभागकै प्रतिवेदनले अहिलेको चार महिनामा सबैभन्दा बढी आयात भएको पुष्टि गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रघुनाथ महतले गोलभेंडा मूल्य नियन्त्रण गर्न सोमबारदेखि बजारमा अनुगमन टोली परिचालन गर्ने जानकारी दिएका छन् ।

Published : Monday, 2019 May 20, 3:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया