रिनाको मृत्यु र नग्न शवबारे छोराको बयान

विराटनगर । मोरङ जिल्लामा साइमन बस्नेतले आफूसँगै सुतेकी आमा रिना बस्नेतको मृत्यु भएको अर्को दिन मात्रै थाहा पाए ।

२९ वर्षीया रिनाको शव सडकमा नङ्ग अवस्थामा भेटिएको थिया । साइमनका अनुसार बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् ।

एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग शनिबार राति मात्र रिना र उनले कुराकानी भएको थियो ।

बाबाले छिट्टै आउने कुरा भएको थियो । त्यही रात रिनाको शंकास्पद मृत्यु भएको छ ।

छोराले बताएअनुसार २९ वर्षीया रिना शनिबार बर्थ डे पार्टीमा सहभागी भएकी थिइन् । त्यसपछि राति ९ बजेतिर पथरी बजारमा आयोजित कन्सर्ट हेर्न गएकी थिइन् ।

राति ११ बजेतिर छोरासँगै घर आएकी उनले मदिरा समेत पिएकी थिइन् । १२ बजेतिर साइमन सुते । ममी फोनमा व्यस्त थिइन् । त्यसपछि के भयो उनलाई थाहा छैन ।

भोलिपल्ट आमा रिनाको शव सडकमा नग्न अवस्थामा भेटिएको थियो ।

प्रहरीले मदिरा पिएर मातेकी रिना शौचालय जाने क्रममा लडेको हुनसक्ने आशंका गरेको छ ।

परिवार भने यसलाई मान्न तयार छैनन् । जेठाजु चक्रबहादुर बस्नेत पुलिसले आफूखसी शव घोपा (वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान) लगेको बताए ।

एक दुई वटा रक्सीको बोतल देखेको भएर मदिरा पिएर लडेर मृत्यु भएको तर्क पनि स्थानीयको छ । तीन तलामाथि बाट निर्वश्त्र लडेको भए शरीरमा किन चोट लागेन भनेर प्रशन पनि उठेको छ ।

छोरा साइमनका अनुसार ममी रिना, कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहन्थिन् ।

शनिबार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि उनले फोन गरिरहेका थिए तर, ममीले फोन नउठाएको उनले बताए ।

मामाघर जाने क्रममा आफूले पनि कमललाई भेटेको र आफूलाई फोन लगायतको उपहार दिएको उनले सुनाए ।

परिवारका सदस्यहरू रिनाको लडेर मृत्यु भएको नभई हत्या भएको हुनसक्ने बताउँछन् ।

प्रहरीले दुर्घटना हुनसक्ने बताएको छ । प्रहरी स्रोतकाअनुसार सामान्यतया हत्याका घटनामा संघर्षका संकेतहरू हुन्छन् । रिनाको शवमा त्यस्तो केही भेटिएको छैन ।

भित्री चोट भए पोष्टमार्टम रिपोर्टमा देखिने प्रहरी बताउँछ । मापसे गरेको र शौचालय जाने तेस्रो तलाको पर्खाल २.५ फिट अग्लो भएका कारण दुर्घटना भएको हो कि भन्ने शंका गर्ने अवस्था रहेको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक मनोज केसी रिनाको शवको अवस्था हेर्दा माथिबाट कसैले फालेको भन्दापनि आफैं लडेको हुन सक्ने बताउँछन् ।

छोरासँगै बस्दै आएकी रिना पथरीमा एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालन गर्दै आएकी थिइन् ।

पथरीमा १६ फागुनमा पनि यस्तै घटना भएको थियो । पथरी शनिश्चरे १ स्थित सिक्का बार एण्ड लञ्च अगाडि २६ वर्षीय षडराज तामाङको शव भेटिएको थियो ।

षडराज र रिनाको शव उस्तै (घोप्टिएको) अवस्थामा भेटिएको थियो । दुबैको टाउकोमा गहिरो चोट भेटिएको छ ।

षडराजका आफन्तले अनुसन्धानका लागि किटानी जाहेरी पनि दिए तर प्रहरीले जाहेरी लिएन । आफन्तले १५ दिन सम्म शव जिम्मा लिएनन् ।

दुर्गन्ध फैलन थालेपछि १६ दिन आफन्तले शव बुझेर अन्तिम संस्कार गरे । षडराज प्रकरणमा उनका आफन्त होटल सञ्चालक दोषी रहेको बताउछन् ।

तर प्रहरीले भने पोष्टमार्टम रिपोर्टले नै मादक पदार्थ सेवन गरेर छतबाट झरेको देखिएको बताउँदै अनुसन्धानको फाइल लगभग बन्द गरेको छ ।

षडराज प्रकरण सेलाउन नपाउँदै पथरीमा शनिवार रिनाको शव भेटियो । यो पनि मदिराकै कारण भएको प्रहरी दाबी छ ।

Published : Sunday, 2019 April 21, 10:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया