अर्काकी श्रीमती र सम्पत्ति भ्याउने दाङका यी धुन्धुकारी पक्राउ

घोराही । दाङ जिल्लामा सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै लाखौं ठगी र जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले महेश उर्फ भुवन धिताललाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका ११ बेलगनार निवासी ४० वर्षीय धिताललाई प्रहरीले शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । धिताललाई ठगी र जबरजस्ती करणी अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

भागेर काठमाडौं जान लागेका धिताललाई प्रहरीले दुई दिन अगाडि दाङ र बाँकेको सीमानाबाट पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय घोराहीमा आयोजित पत्रकार सम्मेलनमा एसपी पाण्डेले नक्कली पत्रकार बनेर महिलामाथि यौन शोषण र ठगी गर्दै आएको भन्ने ५ जना पीडितको जाहेरीको आधारमा धिताललाई पक्राउ गरेको बताए ।

धितालविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ५ जनाले ठगी गरेको भन्दै सामूहिक जाहेरी दिएका छन् भने थप तीन जना महिलाले आफूहरूलाई जबरजस्ती करणी गरेको भन्दै छुट्टाछुट्टै रूपमा जाहेरी दिएको एसपी पाण्डेले जानकारी दिए ।

पक्राउ परेका धितालको चेक रकम १ करोड ६९ लाख, ८२ थान चेक, २ वटा खाली चेक, ३२ वटा तमसुक, तमसुक रकम १ करोड २४ लाख, ४ वटा ढुकुटी खेलाउने रजिष्टर, थप ४ वटा खाली तमसुक, एक थान जलजला अनलाइनको पत्रकार परिचय पत्र, २ थान मोवाइल, १८ हजार ५ सय नगद, २ वटा सुनको औंठी, १ थान ब्रासलेट, १ थान हाते घडी, बा १५ च ७६६८ नम्बरको गाडी र भे ८ प ३९५५ नम्बरको स्कुटी समेत बरामद भएको एसपी पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

शैक्षिकस्तर कमजोर भएका, एकल महिला, पति विदेश गएका महिलालाई धितालले पहिचान गरी योजनावद्ध रूपमा ठग्दै आएको एसपी पाण्डेले जानकारी दिए ।

सर्वसाधारणलाई विभिन्न डस त्रास दिँदै ३६ प्रतिशतसम्म ब्याज उठाएको, समूहमा बसेर पैंसा लगानी गर्ने, रकम उठाउने, समूहमा लगानी गर्न हौस्याउने, सुरूमा लगानी गर्दै प्रलोभन देखाउँदै फसाउने गरेको, ढुकुटी खेलाउँदै ठगी गर्दै आएकोजस्ता अभियोगपीडितले सर्वसाधारणको जाहेरीमा उल्लेख रहेको एसपी पाण्डेले बताए ।

धितालले डरत्रास देखाउँदै सर्वसाधारणवाट ३६ प्रतिशतसम्म ब्याज असुलेको, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र पछि त्यसमा आफूखुसी रकम लेख्ने तथा विभिन्न डर त्रास देखाउँदै यौन शोषण गर्ने गरेको पीडित महिलाले गुनासो गरेका छन् ।

‘कति दिदीबहिनीले उसकै कारण निराश भएर विषसमेत खाए, कतिको उठिवास लाग्यो। अझैं एकजना दिदीका छोरा बेपत्ता छन्’, प्रहरी कार्यालयमा पुगेकी एकजना पीडित महिलाले भनिन्, ‘हामीलाई बिभिन्न डस त्रास देखाउँदै ठग्ने र बलात्कार गर्नेलाई अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

अभियुक्त धितालले आफू पत्रकार भएकाले डिएसपीलगायत प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध रहेको, उनीहरूलाई खसी खुवाउने गरेको, समाचार लखेर अनलाइन र पत्रपत्रिकामा छपाएर बेइज्जत गरिदिन्छु भन्दै धम्काउने गरेको जिल्ला प्रहरी कार्यालयमा पुगेका केही पीडित महिलाहरूले बताएका छन् ।

Published : Friday, 2019 March 29, 11:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया