सत्तारुढ नेकपाका नेताले हत्या गरिएकी प्रेमिकाको शव भेटियो

काठमाडौं । पूर्वएमालेका नेताद्वारा हत्या गरेर नदीमा फ्याकिएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ ।

बुधबार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रमिला राई मोरङको बेलबारीबाट बेपत्ता भएकी थिइन् ।

प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोली परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा शव सप्तकोशी नदीबाट फेला पारिएको हो ।

स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका तीनजना युवकले शव करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदीबाट बाहिर निकालेका थिए ।

रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा प्रहरीले रमिलाको शव खोजिरहेको थियो ।

मोरङका प्रहरी प्रमुख मनोज केसीले शव शंकास्पद भएकाले पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइको बताए ।

हत्या आरोपमा पक्राउ परेका गुरुङको बयान अनुसार शव राईको जस्तै देखिएपनि मोरङ प्रहरीले आधिकारिक रूपमा शव पहिचान गरिसकेको छैन ।

गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरेको थियो ।

प्रहरीका अनुसार रमिला गुरुङकी प्रेमिका हुन् । राई र गुरुङ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । बेलबारी ४ बुधबारे निबासी रमिला पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माईतीघरमा बस्दै आएकी थिइन् ।

गुरुङका भने श्रीमती र छोराहरू काठमाडौंमा बस्दै आएका छन् । मादक पदार्थ सेवन गर्दा विवाद भएपछि रमिलाको हत्या गरेको गुरुङले बयान दिएका छन् ।

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।

गुरुङले रमिलाको हत्या गरेको स्वीकार गरेपनि शव नभेटिएकोले उनलाई अपहरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो । गुरुङले रमिलाको हत्या गरेर बा १५च ७९१६ नम्बरको आफ्नै कारमा राखेर शव कोशी ब्यारेज लिएर फालेको बताएका थिए ।

फागुन १७ गतेघरबाट निस्किएकी रमिला घर नआएपछि १८ गते आफन्तले योगेन्द्रलाई खबर गरेका थिए ।

घटना भएको दिन योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए ।

त्यो दिन उनीहरू विराटचौकस्थित हवाना रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किए ।

उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर, रमिलालाई भने गाडीमै लिएर गएका थिए ।

१८ गते रमिलाको घर पुगेका गुरुङले प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न लगाए । उनले पनि प्रहरीलाई टेलिफोन गरी खोजी गरिदिन आग्रह गरे ।

आफूमाथि अनुसन्धान केन्द्रित हुन थालेपछि गुरुङ भागेर इलाम पुगे । पक्राउ परेपछि भने उनले हत्या गरेको स्वीकार गरेका थिए ।

रमिलाकी दिदीले गुरुङलाई टेलिफोन गरेर बहिनी हराएको भन्दा उनले फागुन १७ गते राति ११ बजे घरमै छाडिदिएको बताएका थिए ।

‘सीसीटिभी फुटेज’ले त्यसलाई गलत सावित गरिदिएको थियो । १७ गते राति ११ बजे घर आएको बताएका गुरुङको गाडी राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको सीसी क्यामेरामा देखिएको थियो ।

Published : Wednesday, 2019 March 27, 6:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया