भारतीय भूमिमा नेपाली युवकको हत्या, सिरहामा बढ्यो अपराध

आलोक यादव

सिरहा । महिना दिन नबित्दै फेरि सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतको खुटौनामा गोली हानी हत्या गरिएको हो ।

यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो । फेरि एकपटक त्यस्तै घटना दोहोरिन गएको छ ।

मंगलबार घरबाटै बेपत्ता भएका सुभाष यादव घाइते अवस्थामा बुधबार भारतको मधुमनी जिल्लाको खुटौनामा भेटिएका थिए ।

स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा सुभाषलाई उपचारका लागि दरभंगा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुँदा पटना पुर्‍याइएको थियो ।

पटनामा उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो । उनीमाथि तीन गोली प्रहार भएको प्रहरीले बताएको छ ।

भारतीय अस्पतालमै पोष्टमार्टम गराई परिवार जनलाई शुक्रबार भारतीय सुरक्षाकर्मीले शव बुझाएका छन् ।

पीडित परिवारले सिरहा प्रहरीमा पनि किटानी जाहेरी दिन लाग्दा उनलाई फेरि पोष्टमार्टम गराउन धरान पठाइएको थियो ।

शनिबार उनको दाहसंस्कार भएको छ । मृतकको बुबा वैदेशिक रोजगारमा साउदी गएका छन् ।

घटनापछि आमा पटक–पटक बेहोस भइरहँदा आफन्तजनले उपचारका लागि अस्पताल भर्ना गराएका छन् ।

उस्तै घटना सिरहाको लहान नगरपालिका वडा नम्बर २४ का ३५ वर्षीय गजेन्द्र यादव पनि सोही तरिकाले बेपत्ता भएका थिए ।

माघ १८ गते बेपत्ता भएका उनको शव दुई दिनपछि भारतको पिपराही चर्खाहीमा फेला परेको थियो ।

मृतक यादवको अनुहारमा ढुँगा, इँटाले प्रहार गरेको निलडाम देखिएको थियो ।

उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल भने फेला परेन । माइत आएकी दिदी अनिता यादवलाई घर पु¥याउन यादव स ८ प ८४२७ नम्बरको सेतो कलरको अपाचे मोटरसाइकलमा दक्षिणवर्ती गाउँ गेरुवाहा गएका थिए ।

दिदीलाई पुर्‍याएपछि लहान फर्किएका गजेन्द्र बेखबर भए । आफन्तले इलाका प्रहरी कार्यालय लहानमा खोजीका लागि निवेदन दिएका थिए ।

त्यही दिन लहान बजारमा गाउँलेले यादवलाई एक्लै देखेको बताएका छन् । यी दुवै घटनाको प्रकृति एउटै देखिएको छ ।

दुवैको हत्या भारतीय भूमिमा भएको थियो । दुवै हत्याको कारण अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ ।

अनुसन्धानमा कठिनाइ हुने र आफू सजिलै बच्ने मानसिकताले अपराधीले पारी गएर अपराध गर्ने गरेको स्रोतले बतायो । दुवै घटनाको जाहेरी प्रहरीमा दर्ता भएको छ ।

Published : Sunday, 2019 February 24, 9:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया