गायक पशुपति शर्मा कांग्रेस हुन् कि कम्युनिस्ट ?

काठमाडौं । ‘लुट्न सके लुट् कान्छा’ बोलको व्याङ्ग्यात्मक गीतबाट चर्चा र विवादमा आएका गायक पशुपति शर्मा कुन दललाई समर्थन गर्छन् भनेर धेरैलाई चासो र चिन्ता हुन सक्छ ।

गायक शर्माले आफूलाई कुनै पनि राजनीतिक दल निकटको नरहेको दाबी गरेका छन् । उनले आफूलाई स्वतन्त्र भनेका छन् । विगतमा तत्कालीन एमाले निकट रहेको भनेर आरोप लागेका गायक शर्मा अहिले भने आफूलाई स्वतन्त्र भन्न रुचाउँछन् ।

नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनका बेला गायक शर्मा एमाले निकटका गायक बद्री पंगेनीको समूहमा रहेर उपाध्यक्षमा निर्वाचित भएको आरोप छ ।

शर्माले कुनै पनि कलाकार स्वतन्त्र हुनुपर्ने बताउँछन् । भन्छन्, ‘कलाकारहरू स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छु । किनभने कलाकार सबैको साझा हुन्छन् ।’

उनको परिवारभित्र कम्युनिस्ट र कांग्रेस पृष्ठभूमि भएकाहरू रहेको स्वीकार गरे ।

‘परिवारको कुरा गर्ने हो भने मेरी श्रीमती र बुबा नेकपाको समर्थक हुन्’, गायक शर्माले भनेका छन् ।

त्यति मात्रै होइन गायक शर्माका बुबा स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट वडाध्यक्षमा उम्मेदवार बन्ने चर्चा थियो । एमालेले उनको नाम पनि वडाध्यक्षमा सफारिस गरेको थियो ।

गायक शर्माले आफ्नी आमाचाहिँ नेपाली कांग्रेस समर्थक रहेको दाबी गरेका छन् । ‘साइँलो अंकल नेपाली कांग्रेस र माइलो अंकल राप्रपा हुनुहुन्छ’, उनले भनेका छन् ।

गायक शर्माले निर्वाचनका बेला राजनीतिक दलभन्दा पनि व्यक्ति हेरेर मतदान गरेको दाबी गरेका छन् । ‘मैले पार्टी हेरिनँ’, उनले भनेका छन्, ‘राम्रो नेता छानेर भोट हाल्ने गरेको छु ।’

गायक शर्मालाई नेपाली कांग्रेस भएको भनेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले आरोप लगाइ रहेका छन् । कांग्रेसले गायक शर्मालाई आफ्नो दल निकटको गायकभन्दा पनि अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत समर्थन गरेको नेताहरूले बताएका छन् ।

गायक शर्मालाई युवा संघ नेपालका नेताहरूले गीत हटाउन धम्की दिएका थिए । उनीहरूको धम्कीपछि शर्माले गीत एकाएक युट्युबबाट हटाएर फेसबुकबाट असन्तुष्टि पोखेका थिए ।

नेपाली कांग्रेससहित उनका समर्थकहरूले युट्युबबाट हटाइएको गीतलाई जस्ताको त्यस्तै पुनः युट्युबमा राख्न आग्रह गरेका थिए । तर, गायक शर्माले गीतका केही शब्दलाई परिमार्जन गर्ने भन्दै तयारी गरेपछि विभिन्न खालका अड्लबाजी भैरहेका छन् ।

Published : Sunday, 2019 February 24, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया