मान्छे मारेको अभियोगमा विप्लवका धुन्दुकारीहरू पक्राउ

काठमाडौं । एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

काठमाडौं उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । स्रोतका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मागे जति चन्दा नपाएपछि बम विष्फोट गराएको हो ।

ललितपुरको नख्खुमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

काठमाडौं कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले शनिबार उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।

घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिएका छन् ।

Published : Saturday, 2019 February 23, 11:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया