फागुन २८ देखि ग्यासको आपूर्ति खलबलिने, मूल्य बढ्ने संकेत

काठमाडौं । कम्युनिस्ट सरकारसँग कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीले आपूर्ति ठप्प पार्ने गरी हड्तालका कार्यक्रम घोषणा गरेका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन ग्यास उद्योगीहरूले कमिसन बढाउन माग गरेका हुन् । ६ वर्षदेखि उस्तै रहेको कमिसनदर बढाउन व्यवसायीहरूले दबाब दिएका छन् ।

ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यासको कमिसन वृद्धि नगरिए कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

अध्यक्ष भण्डारीले फागुन १६ गतेसम्म उद्योगीले पाउँदै आएको कमिसनदरमा वृद्धि नगरे फागुन १७ गतेबाट ग्यास खरिद नगर्ने बताए ।

संघले फागुन २८ गतेबाट देशभरका उद्योग बन्द गरेर आपूर्ति ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

ग्यास बिक्री गर्दा पाउने कमिसन, ढुवानी खर्च, कर्मचारी तथा उद्योग सञ्चालन खर्चलगायतको दर ६ वर्षदेखि वृद्धि हुन नसकेको अध्यक्ष भण्डारीले बताएका छन् ।

यो अवधिमा सरकारलाई धेरैपटक वृद्धिका लागि पहल गरे पनि सुनुवाइ नभएपछि हड्ताल घोषणा गर्न बाध्य भएका भण्डारीले बताए ।

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ४ सय रुपियाँ निर्धारण गर्दा उद्योगीलाई २ सय ८१ रुपियाँ ५ पैसा कमिसन र सञ्चालन खर्चबापत उपलब्ध गराइएको छ ।

यसमा कमिसन प्रतिसिलिन्डर ३२ रुपियाँ दिइएको छ । उद्योगीले कमिसनदर मात्र बिक्री मूल्यको ५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् ।

खर्च पनि महँगी तथा इन्धनको मूल्य घटबढ भएअनुसार समायोजन हुनुपर्ने उनीहरूको माग छ ।

Published : Thursday, 2019 February 21, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया