रुकुम पूर्वमा माओवादीका वडाध्यक्षले महिलामाथि देखाए शक्ति, अस्पताल भर्ना

घोराही । रुकुम पूर्वको पूथ उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढाले एकजना महिलालाई हेलमेटले हानेर घाइते बनाएका छन् ।

ढिलो प्राप्त समाचारअनुसार वडाध्यक्ष जयकुमार बुढाले शौचालय निर्माणको विषयमा विवाद हुँदा जयपुरी बुढालाई हेलमेटले टाउकोमा अन्धाधुन्द प्रहार गरेका हुन् ।

रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी योगेन्द्र खड्काले वडाध्यक्ष जयकुमार बुढाले महिलालाई कुटपिट गरेको विषयमा ठाडो उजुरी आएको जानकारी दिए ।

बुधबार रिपब्लिका दैनिकसँग कुरा गर्दै डिएसपी खड्काले भने, ‘वडाध्यक्षले एकजना महिलालाई शौचालय निर्माणको विषयमा विवाद हुँदा हेलमेटले हानेको भनेर ठाडो उजुरी आएको छ । छानविन हुँदै छ ।’ डिएसपी खड्काले घटनालाई सामान्य भएको बताएका छन् ।

तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष जयकुमार बुढा बेलाबेला विवादमा आइरहने गरेको स्थानीयको आरोप छ । कुटाइखाने महिला जयपुरी बुढा पनि उनकै पार्टीकी स्थानीय नेतृ हुन् ।

आइतबार बिहान वडाध्यक्ष जयकुमार बुढाले शौचालय निर्माण उपभोक्ता समितिकी महिला सदस्य समेत रहेकी जयपुरी बुढालाई कुटपिट गरेको उनका भाई लक्ष्मण बुढा मगरले जानकारी दिएका छन् ।

शौचालय निर्माणका विषयमा छलफल भैरहेका बेला वडाध्यक्ष जयकुमार बुढाले आफ्नी दिदी जयपुरी बुढालाई एक्कासि हेलमेटले टाउकोमा हानेर घाइते बनाएको बताए ।
शौचालय बनाउन गाउँपालिकाले ५ लाख बजेट दिएको छ । सोही बजेटमा महिला भवनको शौचालयको काम भैरहेको छ ।

वडाध्यक्ष जयकुमार बुढाको कुटाइबाट घाइते जयपुरी बुढाको रुकुमकोटमा रहेको अस्पतालमा उपचार भैरहेको छ । कुटाइ खाने जयपुरीले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन् ।

वडाध्यक्ष जयकुमार बुढाले शौचालय निर्माणका विषयमा प्राविधिकको निर्देशनअनुसार काम किन नगरेको भनेर सोध्दा उल्टै आफूमाथि जयपुरी बुढाले ढुंगा प्रहार गरेको जनाएका छन् । ढुंगा प्रहार रोक्न हेलमेटको सहारा लिएको वडाध्यक्ष जयकुमार बुढाले बताएका छन् ।

Published : Wednesday, 2019 February 20, 12:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया