चलेका संगीतकार र गायकको झगडाले म्युजिक इंड्रस्टी विभाजित

काठमाडौं । गायक रवि ओडले पूर्वस्वीकृति बिनै गीत गाएको भन्दै संगीतकार बसन्त थापाले हंगामा मच्चाएका छन् । यतिसम्मकी थापाले नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका छन् ।

प्रतिष्ठानले आफू अनुकूलको निर्णय नगरेको भन्दै संगीतकार थापाले एकलौटी रुपमा अलग भएको घोषणा गरेका हुन् । थापाले ओडलाई हदैसम्मको कारबाही गर्नुपर्ने मनसाय राख्दै आएका छन् । तर, ओडविरुद्ध कुनै पनि न्यायिक निकायमा संगीतकार थापाले उजुरी दिएका छैनन् । रिपलिब्लका दैनिकसँग कुरा गर्दै संगीतकार थापाले भने, ‘मैले रवि ओडविरुद्ध उजुरी हालेको छैन । म त गाली खाने मान्छे हुँ ।’

थापाले फेसबुकमा स्टाटस लेखेर आफ्ना असन्तुष्टिहरु राख्दै आएका छन् । थापालाई के जानकारी छैन भने फेसबुकमा स्टाटस लेखेकै भरमा कसैलाई पनि कारबाही हुँदैन । थापा चलेका संगीतकार हुन् । तर, उनले फेसबुकमा स्टाटस लेखेकै भरमा कसैलाई पनि कारबाही हुँदैन ।

नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष एवम् गायक पशुपति शर्माले संगीतकार थापाले गायक ओडका विरुद्ध कुनै पनि उजुरी नदिएको आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । थापा र ओडका विषयमा फागुन १ गते बस्ने प्रतिष्ठानको बैठकमा छलफलको एजेण्डा बन्ने शर्माले बताएका छन् ।

थापाका थुप्रै गीतहरुलाई दर्शक स्रोताले रुचाएका छन् । थापाको संगीत रहेको पछिल्लो गीत ‘सालको पात टपरी…’ दर्शक स्रोताहरुले असाध्यै मन पराएको गीतमा पर्छ । युट्युबमा यो गीत दुई करोडभन्दा धेरैले भिजिट गरेको भ्यु देखाउँछ । यति धेरै चलेको गीत सबैको मुखमा आउन स्वभाविक पनि हो । ओडले पनि गाउनु स्वभाविक हुन सक्छ । तर, कानूनले गायक ओड तल परेका छन् । नेपाल आइडल नामक एक टेलिभिजन कार्यक्रमबाट आइडल बनेका गायक ओडको भन्दा पनि त्यो निजी संस्थाको गल्ती देखिएको छ ।

रोल्यटी संकलन समाजका कोषाध्यक्ष एवम् गीतकार लोकराज अधिकारीले कसैको सिर्जनालाई तोडमोड गरेर गाउन नपाइने बताउँछन् । ‘राम्रो र चलेको गीत गाउनु नराम्रो होइन । तर, संविधान र कानूनले कसैको सिर्जनालाई गाउनु पर्दा पूर्वस्वीकृति लिनुपर्छ भन्छ’, अधिकारीले भने, ‘कानूनी हिसावले हेर्दा गायक ओडको गल्ती छ । विशेष गरेर ओडलाई कार्यक्रमहरुमा गाउन हिँडालेको संस्थाको गल्ती देखिन्छ ।’

संगीतकार सन्तोष श्रेष्ठले पनि कसैको सिर्जनालाई पूर्वस्वीकृति लिएर गाउन नपाइने बताउँछन् । भन्छन्, ‘तोडमोड गरेर गाउन पाइँदैन ।’ गायक ओडले यो गीतलाई बिगारेर गाएको भन्दै थापाले फेसबुकमा हँगामा मच्चाएपछि विवादले उग्ररुप लिएको छ ।

अष्ट्रेलियामा भएको एक सांस्कृतिक कार्यक्रममा गायक ओडले दर्शक स्रोताको मागअनुसार पूर्वतयारी बिनै संगीतकार थापाले संगीत दिएको ‘सालको पात टपरी…’ बोलको गीत गाएका थिए । त्यो गीत गाउँदा ओडले बिगारेको आरोप संगीतकार थापाको छ । ओडले आफू सिक्दै गरेको गायक भएको भन्दै गल्ती भएकोमा माफी मागेका हुन् ।

थापाले आपत्ति जनाएपछि गायक ओडले सार्वजनिक रुपमा माफी मागेका छन् । ओडले माफी मागेपछि समस्याको समाधान तर्फ जानुभन्दा पनि संगीतकार थापाले त्यही विषयलाई उछालेर विवाद गर्न खोजेको आरोप छ । अहिले आएर संगीतकार थापाले प्रतिष्ठानलाई नै मुछेर सहानुभूति लिने प्रयास गरिरहेको आरोप छ ।

संगीतकार थापाले फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् ।’

‘यस्तो अवस्थामा आफूलाई झन बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म लोकदोहोरी प्रतिष्ठानको सचिव थिएँ’, थापाले भनेका छन्, ‘प्रतिष्ठानले त्यो मुद्धामा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैले व्यक्तिगत रुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।’

प्रतिष्ठनका उपाध्यक्ष एवम् गायक शर्माले संगीतकार थापाका विषयमा भैरहेको विवादलाई आफूले नजिकबाट नियाली रहेको बताएका छन् । फेसबुकमा स्टाटस लेखेर गायक शर्माले भनेका छन्, ‘अहिले बसन्त भाईको विवादलाई पनि नजिकबाट नियालिरहेको छुँ । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ ।’

‘आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो’, शर्माले भनेका छन्, ‘त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धित स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ, त्यो गरेको देखिएन ।’ उनले प्रतिष्ठानको बैठक बसेर संगीतकार थापा र गायक ओडका विषयलाई मिलाउनु पर्ने बताएका छन् ।

‘बसन्त भाईले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थियो कि थिएन थाहा भएन’, गायक शर्माले भनेका छन्, ‘उहाँले संस्थागत ढंगले जानुपर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर विचलित नहुन उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु अरु केही लेख्दिनँ ।’

गायक ओडले संगीतकार थापाको गीत गाउँदा गल्ती भएको भन्दै माफी मागेका छन् । ओडले दर्शक स्रोताहरुको आग्रहमा गीत गाउँदा आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

Published : Tuesday, 2019 February 5, 5:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया