दाङमा भेटियो घरेलु हतियार बनाउने उद्योग

घोराही । दाङ जिल्लामा प्रहरीले घरेलु हतियार बनाउने कारखानामा छापामारेर एक जनालाई पक्राउ गरेको छ ।

देउखुरीको राजपुर गाउँपालिका ७ भौवा नाकामा लामो समयदेखि हतियार बनाएर बिक्री गर्दै आएका ५९ वर्षीय जीतबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले ठूलो मात्रामा तयारी बन्दुक र हतियार बनाउने सामग्रीसहित पक्राउ गरेको जनाएको छ ।

कारखानाबाट ५ भरुवा बन्दुक, एक बाह्रबोर राइफल, तीन एयरगन, एक कटुवा पेस्तोल, एक रिभल्बर, २९ वटा ठूलो हतियारको नाल र १२ वटा सानो हतियारको नाल बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।

हतियार बनाउन प्रयोग हुने एक आरन मेसिन, तीन रेती, एक हेक्साब्लेड, दुई हथौडा, एक पेचकस, दुई सनासो, दुई छिना, एक पित्तल काट्ने कैँची, एक बर्मा, एक स्ट्रिङ, १२ ग्रुप काट्ने टप, १० सटगनको हतियार बनाउने खोका, १ सय ५७ वटा स्क्रु र १ सय ७ बोल्ट बरामद भएको एसपी पाण्डेले जानकारी दिएका छन् ।

बुढाले सशस्त्र द्वन्द्वकालदेखि बन्दुक बनाउँदै आएको बताएका छन् । शान्ति प्रक्रियापछि केही समय काम रोकेको र तीन वर्षदेखि फेरि बनाउन थालेको बयान दिएको एसपी पाण्डेले बताए ।

कारखानामा बनाएका बन्दुक नेपाल र भारतका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको थाहा भएको उनले जानकारी दिए ।

कतिपय बन्दुक बनाएर विक्री गर्ने र कतिपय समान ल्याएपछि एक बन्दुकको ५ हजार रुपियाँ ज्याला लिएर बनाइदिने गरेको बुढाले बताएका छन् ।

भौवा नाकाकै ३८ वर्षीय रुद्रमणि घर्ती एक थान बन्दुकसहित पक्राउ परेका छन् ।

Published : Sunday, 2019 February 3, 10:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया