काठमाडौंका ठूला गुण्डा नाइके पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी र आपराधिक कार्य गर्दै आएको अभियोगमा प्रहरीले गुण्डा नाइके राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खालीलाई पक्राउ गरेको छ ।

कोटेश्वर, चाबहिल, गौशाला, सिनामंगल क्षेत्रमा आपराधिक गतिविधि गर्दै आएका राजु गोर्खालीलाई प्रहरीले पक्राउ गरेको हो ।

५० वर्षीय गोर्खालीलाई महानगरीय अपराध महाशाखाले आइतबार बानेश्वरबाट पक्राउ गरेको छ ।

राजधानीका व्यापारीहरूलाई धम्क्याएर विगत तीन महिनादेखि अवैध असुली गरिरहेको आरोपमा महाशाखाले गोर्खालीलाई पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

महाशाखा प्रमुख सिंहका अनुसार राजु गोर्खालीले राजधानीका मलहरूमा व्यापार गर्ने ६ जना व्यापारीहरूको पसलमा जबरजस्ती ताला लगाउने, खाली गर्न लगाउने र अन्यलाई भाडामा उपलब्ध गराइरहेका थिए ।

राजु गोर्खालीले काठमाडौं मलका शिवलक्ष्मी कोजुको नामको ठेक्का अलिखित रूपमा स्वीकार गरेको भन्दै व्यापारीहरू सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दीपबहादुर थापालगायतको पसलमा ताला लगाएर तीन महिनादेखि आफ्नो कब्जामा लिएको एसएसपी सिंहले बताएका छन् ।

राजु गोर्खालीविरूद्ध आपराधिक ठगी तथा संगठित अपराध अन्तर्गत अनुसन्धान सुरू गरिएको सिंहले बताएका छन् ।

काठमाडौं–७ चाबहिलका राजु गोर्खालीसँग आवद्ध राजधानीमा आपराधिक समूह सक्रिय छन् ।

०५९ सालमा राजन लिम्बुलाई रोयल डिस्कोमा तरबार हानी हत्या गरेको आरोपमा गोर्खालीले दश वर्ष सजाय कटाएका छन् ।

Published : Sunday, 2019 February 3, 9:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया