हवाइ भाडा घट्यो, गाडी भाडा यथावत

काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानतर्फको हवाइ भाडा घटेको छ ।

वायुसेवा सञ्चालक संघले हवाइ भाडा शुक्रबारदेखि लागू हुने गरी घटाएको हो । सार्वजनिक सवारीको भाडा भने घटेको छैन ।

निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपियाँ घटाएको थियो ।

यसअघि निगमले १ सय ४ रुपियाँ ५० पैसा लिटरमा आन्तरिक वायुसेवालाई हवाई इन्धन बेच्ने गरेको थियो ।

इन्धनको मूल्य घटेसँगै हवाइ भाडा पनि समायोजन गरिएको विज्ञप्ति जारी गरी संघले जानकारी दिएको छ । माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तब्यका लागि घटेको भाडादर आइतबारदेखि लागू हुनेछ ।

संघका अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४४० रुपियाँसम्म भाडा घटाएका छन् ।

सबभन्दा कम ९० रुपियाँ काठमाडौंदेखि सिमरासम्मको तथा काठमाडौंदेखि धनगढीसम्मको रुटमा सबैभन्दा धेरै ४ सय ४० रुपियाँ हवाइ भाडा घटेको छ ।

काठमाडौं–सिमरा सबभन्दा छोटो दूरी अर्थात जम्मा २० मिनेट धनगढी १ घण्टा १५ मिनेटेको सबभन्दा टाढाको गन्तब्य हो । नयाँ भाडादर अनुसार काठमाडौं–सिमरा ३ हजार १ सय २० र काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपियाँ लाग्नेछ ।

माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपियाँ भाडा घटेको छ । नयाँ भाडदर ११ हजार ३ सय रुपियाँ कायम भएको छ । काठमाडौं–भरतपुर रुटमा ११० रुपियाँ घटेको छ ।

अब यात्रुले ३ हजार ६ सय ५० रुपियाँ तिर्नुपर्नेछ । काठमाडौं–तुम्लिङटारको भाडा १ सय ८५ रुपियाँ घटेको छ । यो रुटमा अब आइतबारदेखि ६ हजार रुपियाँ भाडादर तोकिएको छ ।

काठमाडौंबाट पोखरा १ सय ५५, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५ र भद्रपुर रुटमा ३ सय रुपियाँ भाडा घटेको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौंबाट पोखरा ५ हजार ५०, विराटनगर ७ हजार ५ सय ५०, जनकपुर ४ हजार ३ सय, भैरहवा ६ हजार २ सय, नेपालगञ्ज १० हजार र भद्रपुर ९ हजार १ सय कायम भएको छ ।

Published : Friday, 2019 January 11, 10:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया